वास्तविक भूकम्प पीडितले पाएनन् अनुदान

भूकम्पमा परेर घर र ज्यान क्षति भएका वास्तविक भूकम्प पीडितले अझैसम्म पनि अनुदान नपाएको भक्तपुर सूर्यविनायक नगरपालिका–४ चित्रपुरका बासिन्दाले गुनासो गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर ६ गते आयोजना गरेको भूकम्प पीडितका लागि राहत तथा पुनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्प पीडितले यस्तो गुनासो गरेका हुन् ।

घर भूकम्पले भत्काएर जस्ताको टहरामा बस्दै आएकी सनेश्वरी राजथलाले भनिन्–“भूकम्पमा घरको एउटा इँटा पनि नखसेकाले पहुँचको भरमा भूकम्प पीडितको कार्ड बनाएर ३ लाख रुपियाँ लिए । हामी वास्तविक भूकम्प पीडितले अनुदान पाएनौँ । यो कस्तो न्याय हो ?”

कार्यक्रममा स्थानीय नानीमैया राजथलाले भूकम्पले घर भत्काएर टहरामा बस्दै आएको तीन वर्ष बित्दा पनि अनुदानको रकम नपाएको गुनासो गर्दै हातमा रातो कार्ड भएर पनि नाम छुटाइदिँदा समस्या भएको बताइन् ।

जस्ताको टहरामा बस्दै आएकी लीला राजथलाले आफ्नो घरको जग समेत ढल्दा पनि आफू भूकम्प पीडितको सूचीमा नपरेको र गुनासो फारम भर्दा समेत अनुदान पाउने सूचीमा नपरेको भन्दै बस्ने ठाउँ नभएपछि ऋण गरेर घर बनाउन थालेको बताइन् । उनले अनुदान पाउने आशा अब मरेको बताइन् ।

चित्रपुरका रामसुन्दर राजथला, राजकुमार राजथला, रामभक्त राजथलाले आफूहरूले वाल सिस्टममा घर बनाए पनि नगरपालिकाले नक्सा पास नगरिदिँदा अनुदान नपाएको बताए ।

कार्यक्रममा श्यामकृष्ण राजथलाले घर बनाउने पैसा नहुँदा यत्तिकै बस्नु परेको बताउँदै अनुदान पाउने सूचीमा आफ्नो नाम नआएपछि गुनासो फारम भर्दा पनि पैसा नआएको बताए ।

स्थानीय मुकेश राजथलाले आफूले अनुदानको ५० हजार ल्याएर घर बनाइसक्दा पनि थप रकम भने अझै नआएको गुनासो गरे ।

सुकुमवासी समस्या रहेको र लालपूर्जा समेत नहुँदा यहाँका बासिन्दालाई भूकम्पको अनुदान लिन समस्या परेको स्थानीयले बताए । स्थानीय नारायण राजथला, श्याम राजथलाले घर बनाइसक्दा पनि रकम नआएको बताए ।

स्थानीय शरण राजपुत्रको भूकम्पमा घर भत्किएर ज्यान गएपनि उनका परिवारले अझै पनि अनुदान नपाएको गुनासो गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पर्वाधारका अधिकृत विवेश गौतम, प्राधिकरणका इञ्जिनियर अजय गेलालले भूकम्प पीडितहरूले उठाएको सवालको जबाफ दिँदै संयुक्त परिवार भएका, सुकमवासीको हकमा पनि अनुदान पाउन सकिने बताउँदै मन्जुरीनामा चाहिने बताए ।

उनले रकम प्राप्त गर्न बाँकी पीडितहरूले कार्यालयमा सम्पर्क राख्न सुझाव दिँदै नाम छुटेकाहरूले अदालत जानु पर्ने र पैसा लिएर घर नबनाउनेहरूले आगामी पुस १५ गतेसम्म लिएको ५० हजार रुपियाँ फिर्ता गर्नुपर्ने बताए ।

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईले भूकम्प पीडितका समस्याका बारेमा सम्बोधन गर्दै आएका अप्ठ्यारालाई स्थानीय तहमार्फत नै सुल्झाएर जानुपर्ने बताए ।

सविना केसी