वास्तविक पीडितभन्दा नक्कलीले क्षतिपूर्ति पाएको गुनासो

पुनर्निर्माण प्राधिकरण एवम् सरकारकै अव्यवहारिक नीतिका कारण वास्तविक भूकम्प पीडितले क्षतिपूर्ति नपाउने गरेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । कतिपय अव्यवहारिक नीतिका कारण पाउन नहुने व्यक्तिले पनि भूकम्प पीडितको नाममा क्षतिपूर्ति लिएको उनीहरूले बताए ।

टोखा नगरपालिका-२ मा असार ६ गते आयोजित मानव अधिकारमैत्री वातावरणका लागि उतरदायित्वको प्रवर्धन कार्यक्रम अन्तर्गत 'भूकम्प पीडितको अवस्था तथा पुनर्निर्माण' विषयक सार्वजनिक कार्यक्रमका वक्ताहरूले असली भन्दा नक्कली भूकम्प पीडितले क्षतिपूर्ति लिएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गरेका छन् ।

टोखा निवासी गणेशमान श्रेष्ठले वास्तविक भूकम्प पीडितले क्षतिपूर्ति पाउनमा समस्या झेल्नु परेको तर गैरपीडितले सजिलैसँग क्षतिपूर्ति पाउने विषय दुखद भएको बताए । वास्तविक पीडितको पहिचान गरी क्षतिपूर्ति दिने कार्य व्यवस्थित गर्नुपर्ने सुझाव उनले दिए ।

कतिपय प्राविधिक कारणले समेत वास्तविक पीडितहरूले क्षतिपूर्ति पाउन नसकेको बताउँदै उनले क्षतिपूर्ति दिने व्यवस्था सरल एवम् सहज हुनुपर्ने बताए ।

यसैगरी भूकम्पका समयमा सक्रिय कतिपय सङ्घ संस्थाहरू अहिले निष्कृय भएको दुःख व्यक्त गर्दै क्षतिपूर्ति दिलाउने सवालमा समेत ति संस्थाहरू सक्रिय हुन आवश्यक रहेको उनले बताए ।

टोखाकै राधेश्याम श्रेष्ठले पीडितलाई हैरान गरेर क्षतिपूर्ति दिने कामको अन्त्य हुनुपर्ने माग गर्दै क्षतिपूर्ति दिने व्यवस्था सहज बनाउन सरकारसँग माग गरेका छन् ।

यसैगरी हेमराज श्रेष्ठले राज्यले वास्तविक पीडितलाई क्षतिपूर्ति नदिई नक्कली पीडितलाई क्षतिपूर्ति दिएकोप्रति आपत्ति जनाउँदै वास्तविक पीडितलाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन् ।

टोखाकै राष्ट्रमान श्रेष्ठ, हेराकाजी डंगोल, राजेन्द्र श्रेष्ठलगायतले भूकम्प पीडितले पहिलो किस्ताको रकम सरल एवम् सहज तरिकाले पाए पनि त्यसपछिका किस्ता पाउन समस्या झेल्नुपरेको गुनासो गरेका छन् । कतिपय भुकम्प पीडितहरू गुठी एवम् मोहीको जग्गामा बस्नुका साथै लालपुर्जा नभएका कारणले क्षतिपूर्ति पाउनमा समस्या भइरहेको बताएका छन् ।

टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डङ्गोलले पीडित एवम् सरोकारवालाबिच सहजीकरण गरेर सहज एवम् सरल तरिकाले क्षतिपूर्ति दिने व्यवस्था गराउन आफूले पहल गरिरहेको बताइन् ।

मानव अधिकार सञ्जाल काठमाडौँका अध्यक्ष प्रदिप डङ्गोलले टोखामा उठेका भूकम्प पीडितको समस्या सम्बन्धित निकाय सम्म पुर्‍याउने र सरल तरिकाले पीडितलाई क्षतिपूर्ति दिलाउने प्रतिबद्धता व्यक्त गरे ।

इन्सेक काठमाडौँ कार्यालयका कार्यक्रम अधिकृत गणेश भण्डारीले भूकम्प पीडितहरूका समस्या विभिन्न किसिमका रहेकाले त्यसलाई नीति निर्माण गरी समाधान गर्नुपर्ने बताए । सबै पीडितले क्षतिपूर्ति सरल एवम् सहज तरिकाले पाउने गरी आफूहरूले सम्बन्धित निकायमा दबाव सृजना गर्ने उनले बताए ।

सुभाष साह