वार्षिक समीक्षा बैठक सम्पन्न

इन्सेक नेपालगञ्जको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा स्थानीय स्तरका जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) कार्यक्रमको वार्षिक समीक्षा बैठक जेठ २२ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक नेपालगञ्जका संयोजक भोला महतले परियोजनाले खोजेको उपलब्धि प्राप्त भए नभएको विषयमा समीक्षा गर्नुपर्ने सुझाव दिए ।

परियोजनाको प्रभावका आधारमा आगामी कार्यक्रम तयार गरिने भएकालेसमुदायमा आएको परिवर्तनको अभिलेखीकरण गम्भीरताका साथ गर्न संयोजक महतले अनुरोध गरे । इन्सेकले विभिन्न समयमा गर्दै आएको ढाँचाका विषयमा बताउँदै महतले जिम्मेवारीपूर्ण काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले उपलब्धि हासिल गर्ने किसिमलले काम गर्नुपर्ने बताइन् । प्रलेख अधिकृत नारायण सुवेदीले इन्सेक जिल्ला प्रतिनिधि र सहजकर्ताहरूले आफ्नो क्षमता अनुसारको काममा कञ्जुसाई गर्न नहुने बताए ।

बाँके, बर्दिया, सुर्खेत, दाङ र दैलेख जिल्लाका इन्सेक जिल्ला सहजकर्ता र प्रतिनिधिहरूले जिल्ला तथा कार्यक्रम सञ्चालित क्षेत्रमा सम्पन्न क्रियाकलाप, उपलब्धि तथा आगामी योजनाका विषयमा प्रस्तुती दिएका थिए ।

कार्यक्रममा इन्सेक अनलाइन निर्देशिका २०७५ का विषयमा प्रलेख अधिकृत नारायण सुवेदी र लेखासँग सम्बन्धित विषयमा सविना थापाले सहजीकरण गरेका थिए ।

विनोद पाण्डे