वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न

Photo 20240319 Dhanusha 4

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित प्रदेश स्तरीय वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक ०८० चैत ५ गते जनकपुरधामा सम्पन्न गरिएको छ ।

उक्त बैठक सो सञ्जालको मधेस प्रदेशका संयोजक धिरेन्द्र कुमार शाहको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले हरित गृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनको अर्थ, कारण, तिनले मानव जीवनमा पार्ने प्रभाव तथा असर बारे प्रस्ट पार्नु भएको थियो ।

त्यस्तै, वातावरणीय मानव अधिकार रक्षक सञ्जालका मधेस प्रदेशका संयोजक धिरेन्द्र साहले वातावरण सम्बन्धी अधिकार र कानुन बारे आम नागरिकलाई जानकारी दिलाउने र ती अधिकार र कानुनहरुको प्रभावकारी कार्यान्वयन गर्ने दायित्व राज्यको भएको बताउनु भयो । उहाँले वातावरणीय समस्या साँझा भएकोले स्थानीय समुदायमा सचेतना फैलाउनु पर्ने र अधिकार प्राप्तिका लागि लिखित मागदाबि गर्नुपर्ने समेत बताउनु भयो ।

फोहोर व्यवस्थापनका लागि स्थानीय तहमा भेटघाट र मागदाबि गर्ने, जिल्लागत अन्तरक्रिया कार्यक्रम गर्ने र सम्बन्धित मन्त्रालयका पदाधिकारीलाई समेत सञ्जालमा राख्न र विषयगत विज्ञलाई पनि सञ्जालमा राख्न वातावरण सञ्जालका अध्यक्ष शाहलाई कमला बचाउ अभियानि बिनोद महराले आग्रह गर्नु भयो ।

वातावरण विनाशको असर साँझा विषय भएकोले मानव अधिकार रक्षकहरूले नीतिगत तहमा पैरवी गर्न आवश्यक रहेको राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालयका अधिकृत रेखादत्तले बताउनु भयो । साथै, अन्तर्राष्ट्रिय सन्धि सम्झौता, दिगो विकासका लक्ष्य लगायतका प्रतिबद्धतालाई राष्ट्रिय स्तरमा कार्यान्वयन गर्दै लैजान राज्य गम्भीर बन्नुपर्ने र सम्बन्धित सबैजना जिम्मेवार बन्नुपर्ने अधिकृत दत्तले बताउनु भयो । उक्त बैठकमा वातावरण संरक्षणको क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाका पदाधिकारी तथा युवा अभियान्ता लगायतको उपस्थिति रहेका थियो ।

Photo 20240319 Dhanusha 2 Photo 20240319 Dhanusha

सन्तोषकुमार यादब