वातावरणसम्बन्धी ऐन प्रभावकारी बनाउन माग

  ०८० फागुन ११ गते

बराहताल गाउँपालिकाका आम नागरिकहरुको स्वच्छ र स्वस्थ वातावरणमा बाच्न पाउने हक सुनिश्चितताका लागि वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनलाई संशोधन गरेर  नियमावली र कार्यविधि समयमै बनाउन माग गरिएको छ ।

इन्सेकद्वारा गठित मानव अधिकार रक्षक समूहको नेतृत्वमा फागुन ११ गते गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुन मगरलाई मागपत्र पेस गरिएको हो ।

मागपत्र बुझदै उपाध्यक्ष पुनले पालिकाले समयमै वातावरण ऐन संशोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बराहताल गाउँपालिकाद्वारा जारी वातावरण संरक्षण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७६ का सन्दर्भमा इन्सेकले ०८० माघ ३ गते  ऐनको समीक्षा गरेको थियो।

उक्त समीक्षा कार्यक्रममा उठाइएका प्रतिवेदनको आधारमा सो ऐन संशोधन तथा समयमै नियमावली र कार्यविधि निर्माण गरी प्रभावकारी रुपमा ऐन कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।

संविधानमा गरिएको सवैधानिक व्यवस्थाको आधारमा ऐन संशोधन गरेर जनताको अधिकार सुनिश्चित गर्ने गाँउपालिका अध्यक्ष भिमबहादुर भण्डारीले प्रतिबद्धता जनाउनुभएको थियो ।

नेपालको संविधान भाग ३ मौलिक हकको धारा ३० मा स्वच्छ वातावरण हकको व्यवस्था रहेको छ।

मागपत्र हस्तान्तरण गर्ने कार्यक्रममा मानव अधिकार समूहका अध्यक्ष छविलाल शर्मा , समूहका सदस्यहरु र जिल्ला सहजकर्ता ललिता विकको सहभागीता रहेको थियो ।

Photo20240223Surkhet (2)

Photo20240223Surkhet (3)

Photo20240223Surkhet (1)

 

जगतदल जनाला विक