लैंङ्गिक हिंसाविरूद्धको १६ दिवसीय अभियान सुरूआत
“हामी सबैको प्रतिबद्धता: लैंङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता“ भन्ने मूल नाराका लैंङ्गिक हिंसाविरूद्धको १६ दिवसीय अभियान सुरूआत भएको छ ।
इन्सेकसहित विभिन्न सङ्घसंस्थाको आयोजनामा ०८१ मङ्सिर १० गते प्रभातफेरी र्याली तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी १६ दिवसीय अभियान सुरूआत गरिएको हो ।
मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाको आयोजनामा इन्सेक, गैसस महासङ्घ, मानव अधिकार रक्षक सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, कोकन, सिविन नेपाल, बाल क्लब, परिवर्तनशील समाज, माइती नेपाल, एवीसी नेपाल, ओरेक नेपाल, नारी विकास सङ्घलगायतकाले ०८१ मङ्सिर १० गते विराटनगरमा वृहत जनचेतामूलक र्यालीको आयोजना गरेका छन् ।
विराटनगर महानगरपालिका परिसरबाट सुरु भएको र्यालीले रेडक्रस चोक, जिल्ला प्रशासन चोक, शहीद रंगशाला, अस्पताल चोक, ठाकुरवाडी रोड, बुधहाट चोक, ट्राफिक चोक हुँदै हिमालय रोडमा पुगेर कोणसभा गरेको छ । कोणसभालाई सम्बोधन गर्दै महानगरपालिकाका मेयर नागेश कोइरालाले लैंङ्गिक हिंसा रोक्न घरघरमा सचेतना आवश्यक रहेको बताउनु भयो । लैङ्गिक हिंसा रोक्न १६ दिनको अभियानले मात्रै नपुग्ने भन्नुहुँदै मेयर कोइरालाले अभियान हरेक दिन हुनुपर्नेमा जोड दिनुभयो । महानगरपालिका उपमेयर शिल्पा निराला कार्कीले महिला मात्रै नभएर पुरुष पनि हिंसामा पर्ने गरेकोले हिंसामा परेकाहरूले न्यायिक समितिमा उजुरी गर्न आग्रह गर्नुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, एसपी नारायण चिमरिया, महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, जनप्रतिनिधिहरू काजीबहादुर बस्नेत, कुमार पोखरेल, जितन थापा, तीर्थेन्द्र नेउपानेसहित कार्यपालिकाका सदस्य, नेपाल प्रहरी, कर्मचारी र विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागितामा भएको र्यालीमा पञ्चेबाजासँगै सहभागीले नाचगानसमेत गरेका थिए ।
खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार इन्सेकलगायत विभिन्न संस्थाको आयोजनामा भएको प्रभात फेरी दिक्तेलको रत्नपार्कवाट भानुचौक हुदै हाटडाँडाबाट त्रीवेणी चौकमा पुगेर कोण सभा गरी लैङ्किक हिंसा विरुद्धको १६ दिने अभियानको आरम्भ भएको छ ।
प्रभात फेरीमा इन्सेक, जिल्ला प्रहरी कार्यालय दिक्तेल, रुपाकोट मझुवागढी नगरपालिका, राष्ट्रिय मानव अधिकार आयोगसहित सरकारी कार्यालय तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले प्लेकार्ड बोकी विभिन्न नारा लगाएका थिए । कोण सभामा सविधान सभा सदस्य दुर्गा जयन्ती राईले १६ दिने अभियानको पृष्ठभूमिबारे चर्चा गर्नुहुँदै महिला व्यावसायी, उद्यमी हुन सके हिंसामा कमी आउने वताउनु भयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तिर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीलगायतले चेतना विकास गरे मात्र हिंसाको अन्त्य हुने वताउनु भयो ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार लैङ्गिक हिंसा विरुद्धको पहिलो दिन ओखलढुङ्गामा इन्सेक, सिद्धिचरण नगरपालिका, जिल्ला प्रहरी कार्यालयलगायतको आयोजनामा र्यालीसहित सचेतनामूलक कार्यक्रम गरिएको छ । सिद्धिचरण नगरपालिका-११ को खाद्य संस्थानबाट निक्लिएको र्याली बजार परिक्रम गर्दै सिद्धिचरण पार्कमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा सिद्धिचरण नगरपालिकाका नगर प्रमुख तेजेन्द्र खनालले पछिल्लो समय सचेतामूलक कार्यक्रमहरुको प्रभावले हिंसा पीडितहरू न्यायिक निकायसम्म आउने क्रम बढेको बताउनु भयो । विद्यार्थीहरुमा सचेतना कार्यक्रम सँगै हिंसा न्यूनिकरणमा सबै जनाको सहयोग आवश्यक रहेको नगर प्रमुख खनालले बताउनु भयो । नगरपालिकाका निवर्तमान नगर प्रमुख मोहनकुमार श्रेष्ठले लैङ्गिक हिंसाको अन्त्यका लागि परिवार र समुदाय स्तरबाटै सचेतनामा जोड दिनुपर्ने बताउनु भयो ।
सिद्धिचरण नगरपालिकाका उपप्रमुख एवम् १६ दिने अभियान कार्यक्रमका संयोजक केदारबाबु बस्नेतले समु्दायमा हिंसा कायम रहेसम्म सभ्य समाजको परिकल्पना गर्न नसकिने बताउनु भयो । उहाँले १६ दिन मात्र नभई हरेक दिन हिंसाको न्यूनीकरणका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।
इन्सेक लगायत सिद्धिचरण नगरपालिका, जिल्ला प्रहरी कार्यालय र विभिन्न संघसस्थाको समन्वयमा १६ दिन नै वडा तहसम्म पुगेर विभिन्न सचेतनाका कार्यक्रम गरिने सिद्धिचरण नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख सरिता तामाङले जानकारी दिनुभयो । कार्यक्रममा जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि, शिक्षक, विद्यार्थी, पत्रकार लगायतको सहभागिता रहेको थियो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विविध कार्यक्रम गरि मनाउने गरिन्छ ।
इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले बलात्कार घटनाकी पीडित १८ वर्षीया युवतीलाई ०८१ मङ्सिर २८ गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । पीडित युवतीलाई ०८१…
सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समितिको बैठक सम्पन्न
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदाधिकारी सिफारिस गर्न गठित समितिको गठन गर्ने प्रक्रिया प्रति ध्यानाकर्षण भएको छ । सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समिति बैठक…
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा इन्सेक प्रतिनिधि सम्मानित
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा इन्सेक सिरहा जिल्ला प्रतिनिधि सम्मानित भएका छन । "हाम्रो अधिकार, हाम्रो भविष्य, अहिले नै" भन्ने मुल नाराका साथ ०८१ मङ्सिर २६ गते अन्तर्राष्ट्रिय मानव अधिकार…
७६ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरी समपन्न
"हाम्रो अधिकार, हाम्रो भविष्य अहिले नै" भन्ने मुल नाराका साथ ०८१ मङ्सिर २६ गते ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा र्याली तथा अन्तरक्रिया कार्यक्रम गरी समपन्न भएको छ ।…
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइयाे
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मङ्सिर २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शम्भुनाथ र डाक्नेश्वरी नगरपालिकामा गठित मानव अधिकार समूहले मानव सहायता सम्पर्क समूह सञ्चालन गरी मनाएको छ भने मङ्सिर…