लेकवेसीमा आवासको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ०७८ भदौ ३१ गते

इन्सेक सुर्खेतको आयोजना तथा मानव अधिकार समूह लेकवेसीको समन्वयमा आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम भदौ ३० गते लेकवेसीमा सम्पन्न भयो ।

स्थानीय समुदायलाई सचेत पार्दे जिम्वेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा लेकवेसी नगरपालिकाका उपप्रमुख शान्तीकुमारी छन्तेलले  आवासको क्षेत्रमा जनता आवास  कार्यक्रम, खरको छाना विस्थापन गर्ने कार्यक्रम संघीय सरकारको भएको र समयमा कार्यान्वन नहुँदा जनप्रतिनिलाई समेत समस्या परेको बताउनु भयो ।

उपप्रमुख छन्तेलले नगरपालिकामा  जनता आवास कार्यक्रमका लागि ३३ घरधुरी र २ सय ६० घरधुरीलाई खरका छाना मुक्त बनाउने अभियान सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

नगरपालिकाभरी भूमिहिन र अव्यवस्थित बसोवासका लागि ३ हजार ७ सय ७५ लगत सङ्कलन गरिएको बताउनु भयो ।

photo 20210916 surkhet 1

मुख्यमुन्त्री रोजगार कार्यक्रम असार सुरू भएपछि कार्यक्रम सञ्चालनका लागि परिपत्र गर्ने तर अख्तियारी र समयमा भुक्तानी नहुँदा समस्या भएको छन्तेलले बताउनु भयो ।

३३ घरधुरी निर्माणका लागि ४ वर्ष वितिसक्दा समेत कुनै सुनुवाई नभएकाले सेवाग्राही मर्कामा परेका पनि उहाँले उल्लेख गर्नुभयो ।

प्रदेश सरकार र स्थानीय तहका जनप्रतिनिधिबिच यस्ता विषयमा छलफल गर्न सहजीकरण गरिदिन इन्सेकलाई उपप्रमुख छन्तेलले आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका नगरसभापति प्रतिमान बाकावलले नगरपालिकाले सञ्चालन गरेका स्वास्थ्य शिक्षा खाद्य र आवास कार्यक्रमहरूमा सबैको सहभागिता गराउन जनप्रतिनिधिहरूले कन्जुस्याई गरेको बताउनु भयो ।

कार्यक्रममा सहभागि जनप्रतिनिधिहरूले संघिय सरकारले आवास अन्तर्गतका कार्यक्रम सञ्चालन गर्न तथ्याङ्क सङ्कलन गरेर प्रतिवेदन माग गर्ने तर कार्यान्वयन गर्दा समन्वय नगरी काम गरेकोले आफूहरूलाई समस्या सिर्जना हुने गरेको उल्लेख गरेका थिए ।

मानव अधिकार समूह लेकवेसीका अध्यक्ष निरूकुमारी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेक कर्णाली प्रदेश कार्यालयका फोकल पर्सन दुर्गा थापा, नगरका जनप्रतिनिधि, नागरिक समाजका प्रमुख तथा प्रतिनिधि, मानव अधिकार समूहका सदस्यहरूको सहभागिता रहेको थियो ।

photo 20210916 surkhet 2

विनोद लम्साल