लागुपदार्थ दुर्व्यसनीविरुद्ध सडक नाटक प्रदर्शन

इन्सेकद्वारा बराहताल गाउँपालिका –५ बड्डीचौरस्थित जनज्याेती माध्यमिक विद्यालयमा गठित बाल अधिकार र मानव अधिकार समूहको समन्वयमा  वैशाख ३० गते लागुपदार्थ दुर्व्यसनीविरुद्ध सडक नाटक प्रदर्शन गरिएकाे छ ।

बराहताल गाउँपालिकामा  लागुपदार्थ सेवनका कारण विभिन्न किसिमका विकृति मौलाउँदै गएको,  घरेलु हिंसा र लागुपर्दाथको सेवनले यहाँका किशोर किशोरीहरुको जीवन बर्बाद भइरहेकोले यसलाई न्यूनीकरण गर्ने उद्देश्यले सडक नाटक प्रदर्शन गरिएको हो ।

सडक नाटक कार्यक्रममा भनाइ राख्दै बराहताल गाउँपालिका –५ का वडाध्यक्ष धिमराज जोल्मीले सडक नाटकले समाजमा रहेको जल्दोबल्दो समस्यालाई उजागर गर्न सक्षम बनेको बताउनु भयो ।  उहाँले समाजमा लागुपदार्थ दुर्व्यसनीका कारण विभिन्न किसिमका समस्याहरू उत्पन्न भएको औंल्याउँदै धेरै किशोर किशोरीहरु यसको सिकार बन्न पुगेको उल्लेख गर्नुभयो । उहाँले बालबालिकालाई यस्तो अवस्थामा फस्न नदिनको लागि अभिभावकको प्रमुख भूमिका हुने र समाजलाई सचेत पार्न आवश्यक रहेको बताउनुभयो ।

सडक नाटक प्रदर्शनमा जनज्योती माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण सिग्देलले सचेतनामूलक विषयलाई सम्बोधन गरेकोमा धन्यवाद दिनुभयो । उहाँले पछिल्लो समयमा पढ्ने लेख्ने उमेरमा कुलतमा फस्नु लज्जास्पद रहेकोले समस्याको सामाधान गर्न विद्यालय स्तरबाट विभिन्न किसिमका अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

सडक नाटकमा करिब २ सय ५० जना भन्दा बढी बालबालिका, स्थानीयबासी, अभिभावक, बाल अधिकार, मानव अधिकार समूहका सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

नाटकमा सुनील सिंह सुनार, प्रेम बहादुर बुढा, सुस्मिता सारु मगर, प्रतिमा मर्साङगी मगर र सुमन बिक लगायतका कलाकारहरुले अभिनय गरेका थिए भने सहजीकरण इन्सेकका जिल्ला सहजकर्ता ललिता विकले गर्नुभएको थियो ।

Photo20240513Surkhet (1)

Photo20240513Surkhet (3)

Photo20240513Surkhet (5)

Photo20240513Surkhet (9)

जगतदल जनाला विक