राज्यले तोकेको सुविधा नपाएको स्वास्थ्यकर्मीहरूको गुनासो

  ०७८ असार १५ गते

कोभिड अस्पतालमा खटिएका स्वास्थ्यकर्मीहरूले राज्यले तोकेको सुविधा वापतको रकम नपाएको गुनासो गरेका छन ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित मानव अधिकार समूह तुलसीपुरले असार १४ गते स्वास्थ्य संस्थाहरूमा गरेको अनुगमनका क्रममा स्वास्थ्यकर्मीहरूले उक्त गुनासो गरेका हुन् ।

तुलसीपुर उप–महानगरपालिकाले सञ्चालन गरेको कोभिड विशेष मेट्रो अस्पतालका फोकल पर्सन बिमल केसीले राज्यले दिने भनिएको ५० प्रतिशत थप सुविधा नआएको बताउनु भयो । उहाँले अस्पतालमा ६ जना चिकित्सकसहित ५५ जना स्वास्थ्यकर्मी खटिएको उल्लेख गर्दै अहिलेसम्म सुविधा नपाएको बताउनु भयो । तर  उप–महानगरपालिकाले खाने, बस्ने सुविधा उपलव्ध गराएको केसीले बताउनु भयो ।

मेट्रो अस्पतालमा हाल चार जना सङ्क्रमित उपचाररत छन् । हालसम्म १ सय ३५ जना भर्ना भएकोमा १ सय ४ जना निको भए भने पाँच  जनाको मृत्यु भएको र २६ जनालाई रिफर गरिएको अस्पताल व्यवस्थापक बिमल केसीले बताउनु भयो ।

५० बेड क्षमता रहेको अस्पतालमा ९० वटा अक्सिजन सिलिण्डर र २७ वटा अक्सिजन कन्सन्ट्रेटर छन् । अस्पतालले बिरामी र कुरुवालाई खाना, औषधि र मेडिकल किटसमेत निशुल्क उपलब्ध गराउदै आएको छ । मासिक ३ करोड रुपियाँ खर्च हुने अस्पतालमा कोभिड बिरामीको उपचार गरे वापत सरकारले दिने रकम उपलब्ध गराए सहज हुने केसीले बताउनु भयो ।

यसैगरी, अनुगमन टोलीले असार १३ गते घोराही उप–महानगरपालिकाका–५ र ७ स्थित दुई वटा स्वास्थ्य चौकीहरूको अनुगमन गरेको छ । अनुगमनका क्रममा क्रममा धर्ना स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक सपना पुन मगरले स्वास्थ्य चौकीमा औषधि अभाव रहेको बताउनु भयो । उहाँले हाल स्वास्थ्य चौकीमा  २५ प्रकारका औषधि मात्र रहेको बताउनु भयो ।

अनुगमनका क्रममा पाँच कोठा रहेको एक तलाको भवन जीर्ण अवस्थामा रहेको, कोठा अभावले प्रसूति र परिवार नियोजन सेवासमेत एउटै कोठाबाट दिइरहेको, तालिम प्राप्त स्वास्थ्यकर्मी नभएकाले आयूसिडीको सेवा दुई वर्षदेखि बन्द रहेको  पाइएको मानव अधिकार समूह तुलसीपुरका अध्यक्ष हुमकान्त कडेले बताउनु भयो ।
मानव अधिकार समूह तुलसीपुरका अध्यक्ष हुमकान्त कडेलको नेतृत्वमा गएको अनुगमन टोलीले तुलसीपुर उमनपा–८ मा रहेको कोभिड विशेष मेट्रो अस्पताल र सोही उमनपा– २ बालापुरमा रहेको शहरी स्वास्थ्य केन्द्रको अनुगमन गरेको थियो । टोलीमा मानवअधिकार समूहका सदस्यहरू,  इन्सेक सहजकर्ता विनोद केसी, इन्सेक जिल्ला प्रतिनिधि जयनारायण पुन रहेका थिए ।

जयनारायण पुन