यौन दुर्व्यवहारका घटना बढेकोमा सरोकारवाला चिन्तित

  ०७४ जेठ २४ गते

जिल्लामा बालिकाहरू माथि यौन दुर्व्यवहारको घटना बढेकोमा गरेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

Photo20170607Gorkha

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाको आयोजनामा जेठ २४ गते सदरमुकाम गोरखाबजारमा सम्पन्न नेपाल मानव अधिकार वर्षपुस्तक २०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रमका सहभागीहरूले के/कस्ता कारणले बालिकाहरू यौन दुर्व्यवहारबाट पीडित बन्छन् भन्ने विषय जटिलता रहेको बताए ।

कार्यक्रममा ०७३ पुस १७ गतेदेखि हालसम्म ६ महिनाको अवधिमा गोरखामा आठ जना बालिका यौन दुर्व्यवहार तथा बलात्कारका घटनामा पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ । पछिल्ला वर्षहरूमा १६ वर्षमुनिका बालिकाहरू बलात्कारका घटनामा बढी पीडित हुने गरेको भन्दै कार्यक्रमका सहभागीले समस्या समाधानका बारेमा गम्भीर हुनुपर्ने बताएका थिए ।

Photo20170607Gorkha1

कार्यक्रममा अझै पनि घरेलु हिंसाका घटना नघटेकोमा पनि सरोकारवालाले चिन्ता जनाए । कार्यक्रममा जिल्ला प्रहरी कार्यलय गोरखाका एसपी जनकराज पाण्डेय, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भूमिनन्द सिङ्खडा, जिल्ला स्थित मानव अधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा इन्सेक गोरखा जिल्ला प्रतिनिधिले ६ महिनाको अवधिमा राज्यपक्षबाट दुई जना गिरफ्तार भएको साथै गैरराज्य पक्षबाट भएका कुटपिटका चार, बाल अधिकार हनन्का घटना आठ र महिला विरूद्घ हुने सबै प्रकारका भेदभाव तथा दुर्व्यवहारका घटना तीन ओटा सङ्कलन गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

इन्सेक क्षेत्रीय कार्यालय, पोखरा