म्याद गुज्रेका वस्तुको बिक्री वितरण नगर्न मानव अधिकार समूहद्वारा ध्यानाकर्षण

  ०८१ कात्तिक १० गते

विजया दशमी तथा दिपावली सुरु भएसँगै स्थानीय बजारमा विभिन्न खाद्य बस्तुहरू भित्रिने र तिनको खरिद बिक्री बढी हुने भएपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय अन्तर्गत पञ्चपुरी नगरपालिकाका गठित मानव अधिकार समूहले पञ्चपुरी नगरपालिकालाई ०८१ कात्तिक ९ गते ध्यानाकर्षण पत्र बुझाएको छ ।

Photo26102024Surkhet

चाडपर्वको समयमा म्याद गुज्रेका खाद्य र अखाद्य सामग्रीहरूको खरिद बिक्री बढी हुने भएकोले स्थानीय तहभरीका पसलहरूको अनुगमन र निगरानी गर्नका लागि मानव अधिकार समूहका अध्यक्ष अमर कार्कीको नेृत्वमा गएको टोलीले पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालविर भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

नगरप्रमुख लालविर भण्डारीले छिटोभन्दाछिटो बजार अनुगमन गरेर त्यस्ता व्यवसायीलाई कानुनी कारवाहीका लागि सिफारिस गरिने बताउनु भयो । उहाँले नागरिकको गुणस्तरीय खाद्य उपभोग गर्न पाउने अधिकारको रक्षा गर्नका लागि नगरपालिका सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

म्याद सकिएका वस्तुले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय बजारको अनुगमन र व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिएको छ । नेपालको संविधान २०७२ भाग ३ को धारा ३६ मा खाद्य सम्बन्धी हकको व्यवस्था रहेकोले गुणस्तरीय खाद्य उपभोग गर्न पाउने हकलाईं सुनिश्चित गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

जगतदल जनाला विक