मौलिक हक कार्यान्वयनका लागि समुदाय सचेत र जिम्मेवार निकाय जबाफदेही हुनुपर्नेमा जोड

  ०७९ जेठ २९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा सामुदायिक सेवा केन्द्र र महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीको समन्वयमा जेठ २८ गते राजविराज नगरपालिकामा आयोजित एक कार्यक्रमका सहभागीहरुले मौलिक हक कार्यान्वयनका लागि समुदाय सचेत र जिम्मेवार निकाय जबाफदेही हुनु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा इन्सेक सदस्य बैद्यनाथ झाले बढी भन्दा बढी नागरिकले मानव अधिकार बारे जानकारी प्राप्त गरेमा मात्र मानव अधिकार संरक्षण, सम्बर्द्धन र परिपुर्तिका लागि राज्यलाई जबाफदेही बनाउन सकिने बताउनु भयो ।

व्याप्त विकृति अन्त्यको लामो लडाइमा नागरिकले सामूहिक रुपमा निरन्तर आवाज उठाइरहे सफलता प्राप्त हुने उहाँले विश्वास व्यक्त गर्नु भयो ।

इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलले मानव अधिकारको संरक्षण, सम्बर्द्धन र प्रवर्धन गर्ने जिम्मेवारी सबैको भएको बताउनु भयो ।

संविधान प्रदत्त मौलिक हकको कार्यान्वयनका लागि स्थानीय समुदाय सचेत र जिम्मेवार निकाय जबाफदेही बन्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

कर्तव्य निर्वाह गर्दै अधिकारको प्रयोग गर्ने र अरुको अधिकार हनन् नगर्ने बानीले मानव अधिकारको संरक्षण हुँदै प्रवर्धन हुन सक्ने पोखरेलले बताउनु भयो ।

राजविराज नगरपालिका कार्यपालिका सदस्य ललिता कर्णले राज्यले मानव अधिकारको सुनिश्चितताको लागि तय गरेको नीति एवम् योजना कार्यान्वयनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

विद्यमान समस्याहरूको समाधानका लागि निरीक्षण, अनुगमन गरी सेवा प्रदायक निकायहरूलाई उत्तरदायी बनाउने समेत उहाँले बताउनु भयो ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले मानव जीवनको आधारभूत अधिकारका लागि स्थानिय समुदाय, नागरिकहरू एकताबद्ध भई सरोकारवाला समक्ष अधिकारको मागदावी गर्नु पर्ने बताउनु भयो ।

मानव अधिकार निगरानी समूहका अध्यक्ष रघुबर साहले मानव अधिकारको क्षेत्रमा विभिन्न समूह, संस्थासँग समन्वय एवम् सहकार्य गरेर अगाडि बढने बताउनु भयो ।

महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीकी अध्यक्ष अनीता देवकोटाले सरकारी अस्पतालबाट तलब खाने चिकित्सकहरूले निजी अस्पतालको हितमा काम गरिरहेको गुनासो गर्नु भयो ।

प्याब्सनका सचिव सञ्जय शर्माले सरकारी अस्पतालका चिकित्सक डाक्टर आनन्द सिंहले आफूलाई निजी अस्पताल पठाएर शल्यक्रिया गरेको र असफल भएपछि धरान गएर पुनः शल्यक्रिया गर्नु परेको घटना सुनाउनु भयो ।

उहाँले निःशुल्क प्राप्त हुने औषधि अस्पतालमा नपाइने तर आसपासका पसलमा अस्पतालबाट वितरण हुने औषधि विक्री विबतरण भइरहेको आरोप लगाउनु भयो ।

इन्सेकका सहजकर्ता दिपक यादवले कृषिको लागि पर्याप्त मल, बिउबिजन उपलब्ध हुनुपर्ने लगायतका मानव अधिकारका लागि मानव अधिकार निगरानी समूहले निरन्तर अनुगमन गर्दै आवाज उठाइरहेको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो ।

अभिभावक राजकुमार लाल दासले सामुदायिक विद्यालयको स्तरोन्नति र नागरिकले पाउनै पर्ने आधारभूत अधिकारका लागि विशेष चासो राख्नु पर्नेमा जोड दिनु भयो ।

बाल अधिकार चेतना समूहकी खुश्बु रजकले पठनपाठन सुरु भएपनि पाठ्य पुस्तक उपलब्ध नभएको, विषयगत शिक्षकहरूको अभाव रहेको, परीक्षा अगावै पाठ्यक्रम नसकिने र ट्युशन पढनै पर्ने वाध्यता रहेको गुनासो गर्नु भयो ।

कार्यक्रमका सञ्चालक निगरानी समूहका सचिव दिनानाथ यादवले संविधानमा स्पष्ट उल्लेख भएको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको कार्यान्यवनमा सबैले जोड दिनुपर्ने बताउनु भयो ।

कार्यक्रम पश्चात जनचेतनामुलक सन्देशसहितको प्लेकार्ड बोकेका सहभागीहरूले नगरपालिकाबाट राजविराजको विभिन्न भाग हुँदै नारा लगाएर र्‍याली प्रदर्शन गरेका थिए ।

f
photo20220612saptari (1)

photo20220612saptari (2)

photo20220612saptari (3)

इन्सेक मधेस प्रदेश कार्यालय, जनकपुरधाम