मुख्यमन्त्रीलाई मानव अधिकार रक्षक र मधेशी सहिद प्रतिष्ठनसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण

  ०८१ भदौ २० गते

HRD Draft Bill
मानव अधिकार रक्षकहरूले मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक २०७८ र मधेसी सहिद प्रतिष्ठान २०८१ मस्यौदा विधेयक मधेस प्रदेश सरकारका माननीय मुख्यमन्त्री सतिश कुमार सिंहलाई ०८१ भदौ १९ गते हस्तान्तरण गर्नु भएको छ ।

नेपालको संविधान तथा कानुनको स्मरण गर्दै मानव अधिकार आयोगद्वारा आयोजित मानव अधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलन २०६९ को भावनालाई कदर गर्दै मानव अधिकारको सम्बर्द्धन र संरक्षणमा मानव अधिकार रक्षकहरूको महत्वपूर्ण भूमिकालाई उत्तरदायी बनाउन एवम् मानव अधिकार रक्षकहरूको काम, कर्तव्य र दायित्वलाई स्पष्ट गरी उनीहरूको कामलाई सम्मान तथा सुव्यवस्थित गर्न उनीहरूको सुरक्षा सम्बन्धमा कानुन बनाउन वाञ्छनीय भएकाले यो ऐन कानुन निर्माण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ ।

मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणका लागि मधेस प्रदेश सरकारले तत्काल छुट्टै ऐन ल्याउन आवश्यक रहेको भन्दै मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धी मस्यौदा विधेयक माननीय मुख्यमन्त्री सिंहलाई बुझाइएको इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले बताउनु भयो ।

उक्त नमुना विधेयकमा प्रदेश मानव अधिकार रक्षक परिषद गठन, मानव अधिकार रक्षकको सेवाको सुरक्षा, उपचारसम्बन्धी हक र मानव अधिकार रक्षक कोष रहने उल्लेख गरिएको छ ।

त्यसैगरी नागरिकका अधिकार तथा प्रजातन्त्रका लागि भएका सबै आन्दोलनका सहिद तथा पीडित परिवारको हक अधिकार समेटिने गरी मधेस सहिद प्रतिष्ठान ऐन ल्याउनसमेत माननीय मुख्यमन्त्री सिंहलाई आग्रह गरिएको इन्सेक मधेश प्रदेश संयोजक पासवानले जानकारी दिनु भयो ।

दुबै विधेयक उपर विभिन्न चरणमा छलफल भई सकेको र प्रक्रियासमेत अगाडि बढिसकेको तर प्रदेश सभामा पेश हुन नसकेकोले पहलकदमी लिइदिनु हुन भनि मानव अधिकार रक्षकहरूले माननीय मुख्यमन्त्रीलाई आग्रह गर्नु भएको थियो ।

मधेस प्रदेशका माननीय मुख्यमन्त्री सिंहले कानुनको विधेयकहरू सम्बद्ध मन्त्रालय तथा निकायमा पठाई प्रक्रिया अगाडि बढाउने बताउनु भयो ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानको नेतृत्वमा मुख्यमन्त्री कार्यालयमा पुगेको टोलीमा एडभोकेसी फोरम नेपालका मधेश प्रदेश संयोजक तथा अधिवक्ता राजकुमार महासेठ, मानव अधिकारका लागि महिला एकल महिला समूह धनुषाका अध्यक्ष सुभद्रा आले, महिला मानव अधिकार रक्षक सञ्जाल धनुषाका सदस्य जमुना भुजेल, अधिकारकर्मीहरू: अनितेश यादव, प्रियंका ठाकुर, सन्तोषकुमार यादव र शम्भु पंजियारलगायत रहनु भएको थियो ।

यसैबीच इन्सेकका मधेस प्रदेश संयोजक पासवानले माननीय मुख्यमन्त्री सिंहलाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ समेत हस्तान्तरण गर्नु भयो ।

सन्तोषकुमार यादव