मानव बेचबिखन विरुद्ध साझा ऐक्यबद्धता
मानव बेचबिखन विरुद्ध सरोकारवाला निकाय, सामाजिक र मानव अधिकारवादी सङ्घ संस्थाले साझा प्रतिबद्धता जनाएका छन् । ०८१ भदौ २० गते ‘तीनै तहको सरकारको प्रतिबद्धताः मानव बेचबिखन विरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ मानव बेचबिखन तथा ओसारपोसार विरुद्धको १८ औँ राष्ट्रिय दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण समितिको आयोजना इन्सेक र आवाजको समन्वयमा अन्तरक्रिया कार्यत्रक्रम गरिएकाो हो । उक्त समितिको सदस्यमा इन्सेक पनि रहेको छ । अन्तरक्रिया कार्यक्तममा प्रमुृख जिल्ला अधिकारी शङ्करहरि आचार्यले मानव बेचबिखनका घटना न्यनीकरण गर्नका लागि सबै निकायको महत्त्वपूर्ण भूमिका रहने बताउनु भयो । उहाँले पछिल्लो समय मानव बेचबिखनका स्वरुपहरू बदलिएकोले त्यसमा सबै निकायले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भयो । ‘प्रविधिको दुरुपयोगले मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढेको छ । विगतको तुलनामा यसको स्वरूप पनि परिवर्तन भएकोले प्रहरीले मात्रै रोकथाम गर्न गाह्रो छ । विशेषगरी यातायात व्यवसायी, होटेल व्यवसायी, निजी क्षेत्र र नागरिक समाजले पनि सहयोग गर्न आवश्यक छ । शंकास्पद व्यवहार भएमा प्रहरी प्रशासनसँग सहयोग माग्नुस्, यातायात व्यवसायीले पनि सचेतनामूलक सन्देशहरू दिनपर्यो र होटल व्यवसायीले नाम ठेगाना स्पष्ट राख्नुपर्छ', उहाँले भन्नुभयो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयका एसपी रुपेश खड्काले गत वर्ष मानव बेचबिखनका चार ओटा मुद्दा रहे पनि यो आर्थिक वर्षमा प्रहरीसम्म मुद्दा आइ नपुगेको बताउनु भयो । उहाँले नेपालभर ०७५–०७६ सालदेखि ०८२ साउनसम्म १७ सय ७४ जना मानव बेचबिखनको जोखिममा परेकाहरूको उद्दार गरिएको बताउनु भयो । जसमध्ये ९ सय ३३ जना महिला, ४ सय ७७ पुरुष, २८ बालक र ३ सय ३६ जना बालक रहेका छन् । त्यस्तै ०७५–०७६ देखि ०८२ साउनसम्म नेपालभर १ सय ४ ओटा मानव बेचबिखनका मुद्दामा १४ सय ५ जना महिला र १ सय ३७ जना पुरुष बेचबिखनमा परेका छन् । यस्तै ६ सय ६ महिला अभियुक्त र १५ सय १६ पुरुष अभियुक्त रहेका छन् । जसमध्ये ३ सय ७५ जना महिला अभियुक्त र ८ सय ८१ जना पुरुष अभियुक्तलाई नेपाल प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ । मानव बेचबिखनका मुद्दा बढ्नुमा गरिबी, बेरोजगार र अशिक्षा रहेको एसपी खड्काले बताउनु भयो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी अपिलराज बोहराले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध यातायात व्यवसायीलाई चनाखो बन्न सुझाव दिँदै शंकास्पद व्यवहार भए प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो । उहाँले नाकामा पनि प्रहरीलाई थप सक्रिय र निगरानी बढाउन निर्देशन दिइएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहमा पनि समिति गठन गर्नुपर्ने भनिए पनि हालसम्म गठन नभएको पाइएको भन्दै निगरानी गर्ने काम तल्लो तहबाट पनि हुनुपर्नेमा जोड दिनुभयो ।
इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बेचबिखनका स्वरुपहरू बदलिनुको मुख्य कारणहरू पत्ता लगाई साझा अभियानका रूपमा त्यसको न्यूनीकरणका लागि ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले हाल पीडितहरू न्यायिक प्रक्रियामा समेत आउन नसकेका कारण यो समस्या झन् बिकराल हुँदै गएको बताउनु भयो ।
त्यस्तै आवाज संस्थाकी पवित्रा शाहीले बिना पैसा पासपोर्ट र भिसाका नाममा महिला र किशोरीहरू जोखिममा रहेको बताउनु भयो । मानव अधिकार रक्षक सञ्जालका कर्णाली प्रदेश संयोजक पिताम्बर ढकालले मानव बेचविखन र ओसारपसार सम्बन्धी कानुन फितलो भएका कारण पनि त्यसको फाइदा तस्करहरुले उठाउने गरेको बताउनु भयो । उहाँले विभिन्न प्रलोभनमा परी गाउँबाट सहर आएका महिला तथा किशोरीहरू मानव बेचबिखनको जोखिममा बढी पर्ने गरेको बताउनु भयो । उहाँले गरिबी, बेरोजगारी, पारिवारिक समस्या, साथीहरूको लहलहै जस्ता कारणले गर्दा मानव बेचबिखनको जोखिम बढाएको उल्लेख गर्नुभयो ।
भित्रभित्र विभिन्न प्रलोभनमा परी मानव बेचबिखन भइरहेको बताइए पनि कानुनी रूपमा न्यून दर्ता हुने गरेको पाइएको छ । चालु आर्थिक वर्षमा एउटा पनि मुद्दा दर्ता भएको छैन । सुर्खेत प्रदेश राजधानी घोषणा भएसँगै जनघनत्व बढेको, अवसरको खोजीमा आउने तर यहाँबाट पनि भारतलगायत अन्य मुलुक तथा होटेल रेस्टुरेन्टतिर बेचबिखन हुने जोखिम बढेको भन्दै सरोकारवालाले नाकामा निगरानी बढाउनुपर्ने, मानव बेचबिखन विरुद्ध काम गर्ने सङ्घसंस्थाबिच समन्वय हुनुपर्ने, होटल तथा यातायात व्यवसायी पनि सजग बन्नुपर्नेमा जोड दिइएको छ । होटल व्यवसायी तथा यातायात व्यवसायीहरूले यस विषयमा बढी निगरानी गर्नुपर्ने, सेवाग्राहीलाई पनि सचेतनामूलक सन्देशहरू प्रवाह गर्नुपर्ने सुझाव सहभागीहरूले दिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मीना शाहीले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी प्रावधानका बारेमा जानकारी गराउनुभएको थियो । यातायात व्यवसायीहरूले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध बसहरूमा सन्देश प्रवाह गर्ने, आशङ्का लागेमा प्रहरीलाई खबर गर्ने प्रतिबद्धता जनाएका छन् ।
जगतदल जनाला विक
सम्बन्धित इन्सेक गतिविधिहरू
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्विनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान कार्यक्रम…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…
मानव अधिकार अवस्थाका विषयमा छलफल कार्यक्रम सम्पन्न
इन्सेक कर्णाली प्रदेश कार्यालयले राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयसँगको समन्वयमा ०८१ असोज २० गते सल्यान जिल्लाको मानव अधिकार अवस्थाका विषयमा अधिकारर्मी तथा सञ्चारकर्मीसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ…