मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस बिभिन्न कार्यक्रम गरी सम्पन्न

  ०८१ भदौ २१ गते

इन्सेक तथा जिल्ला मूल समारोह समितिको सयुक्त आयोजनामा ०८१ भदौ २० गते सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस विभिद कार्यक्रम गरी सम्पन्न गरिएको छ ।

इन्सेक कञ्चनपुर प्रतिनिधि लिली कुँवरका अनुसार मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औँ राष्ट्रिय दिवस तीनै तहका सरकारको प्रतिवद्धताः मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ मूल नाराका साथ बिभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी ०८१ भदौ २० गते जिल्ला समन्वय समितिको हलमा सम्पन्न गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, भिमदत्त नगरपालिका तथा जिल्ला प्रहरी कार्यालयको आयोजना र इन्सेकलगायतका संघसंस्थाहरुको समन्वयमा भदौ २० गते मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जनचेतनाका लागि प्ले कार्ड सहित निकालिएको र्‍यालीले महेन्द्रनगर बजार परिक्रमा गरेको थियो ।

जिल्लास्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि सहित नागरिक अगुवाको सहभागिता रहेको र्‍यालीले बजार परिक्रमा गरी जिल्ला समन्वय समितिको सभा हलमा अन्तरक्रिया गरिएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख दुर्गा बोहराले मानव बेचबिखनको स्वरूप र तरिकाहरू समेत परिवर्तन भएकोले सोही अनुसारका योजना बनाएर काम गर्न आवश्यक भएको बताउनु भयो ।

मानव बेचबिखन तथा ओसारपसारमा पनि महिला तथा बालबालिका बढी प्रभावित हुने गरेको र अन्तराष्ट्रिय सञ्जाल बनाएर अपराध गर्नेहरूले बेचबिखन गर्ने गरेको भन्दै सरकारी र गैरसरकारी क्षेत्रबाट सचेतनामूलक कार्यक्रम गर्दै न्यूनीकरण गर्नु पर्ने उहाँले बताउनु भयो ।

photo20240905dadeldhura (2)

सहायक प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले मानव बेचबिखन तथा ओसारपसार गर्नेका विरुद्धमा निकै बलियो कानुन भए पनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा समस्या भएको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका इन्स्पेक्टर पुष्कर पन्तले जिल्लामा तीन वर्षको अवधिमा १७ ओटा बेचबिखनका घटनामा सात जना महिला र १० जना बालिका पीडित भएको बताउनु भयो ।

बेचबिखनमा बढी महिला पीडित हुने गरेको भन्दै यसको न्यूनीकरणमा महिलानै जागरूक हुनु पर्ने महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष भगवती थापाले बताउनु भयो । मानव बेचबिखनमा परेका पीडित तथा प्रभावितको सशक्तिकरणका लागि अन्तरक्रिया, रोजगार तथा स्वरोजगारमूलक सीप दिई आत्मनिर्भर बनाउनु पर्ने उहाँको भनाइ छ ।

गैसस महासंघका उपाध्यक्ष अमिर तिरुवाले मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलंक र जघन्य अपराध भएकोले यस्को अन्त्य गर्न बनेका कानुनलाई कडाईका साथ कार्यान्वयनमा गरिनु पर्ने बताउनु भयो ।

इन्सेक डडेल्धुरा प्रतिनिधि शेरबहादुर भण्डारीका अनुसार मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १८ औँ राष्ट्रिय दिवस भदौ २० गते बिभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्नगरिएको छ । जिल्ला मूल समारोह समिति, डडेल्धुराको आयोजनामा भदौ २० गते ‘तीनै तहका सरकारको प्रतिबद्धता: मानव बेचबिखन विरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ जिल्लास्थित  बागबजार क्षेत्रबाट सुरु गरिएको प्रभातफेरी र्‍याली बसपार्क पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रभातफेरी कार्यक्रममा सहभागीले ‘आफ्नो सुरक्षामा आफै ला मानव बेचबिखन विरुद्ध हामी सबै जागाँै, हाम्रो सबैको एउटै चाहना, मानव बेचबिखन रहित समाजको परिकल्पना, हामी सबै लागौँ, मानव बेचबिखन अन्त्य गरौँ’ लगाएतका प्ले कार्ड बोकेका थिए ।

photo20240905dadeldhura (3)

निमित्त प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले मानव बेचबिखन विश्वव्यापी समस्याका रुपमा रहेको र हाम्रो समाजमा पनि विकराल रुपमा रहेकोले तीनै तहका सरकार र सामाजिक क्षेत्रमा क्रियाशिल बिभिन्न संघसास्थाहरुले यसको अन्त्य तथा न्यूनिकरणका लागि भूमिका खेल्नु पर्ने बताउनु भयो । गरिबी र अशिक्षालगायतका कारणले मान्छे मानव बेचबिखनमा पर्ने भएकोले सबै पक्ष संवेदनशिल भएर नागरिकको अधिकारको प्रत्यभूतिका लागि सयुक्त रुपमा अगाडि बढनु पर्ने उहाँले बताउनु भयो ।

कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैर सरकारी संघसंस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अमरगढी नगरपालिकाका कर्मचारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।

इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अुनसार सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र धनगढी उपमहानगरपालिकाको आयोजना र बिभिन्न संघसंस्थाहरुको समन्वय तथा सहभागीतामा ०८१ भदौ २० गते मानव बेचविखन तथा ओसारपसार विरुद्धको १८ औँ राष्ट्रिय दिवस धनगढीमा सम्पन्न भएको छ ।

तीनै तहका सरकारको प्रतिवद्धताः मानव बेचविखन विरुद्ध सबैको ऐक्यबद्धता भन्ने मूल नाराका साथ धनगढीको ट्राफीक चौराहादेखि निकालिएको प्रभातफेरी र्‍याली त्रिनगर भन्सारमा पुगेर कोण सभामा परिणतभएको थियो ।

photo20240905kailali (2)

सुदूरपश्चिम प्रदेश सुदूरपश्चिम प्रदेश सरकारका सामाजिब विकासमन्त्री मेघराज खड्काले मानव बेचविखन तथा ओसारपसार गर्नु दण्डनिय अपराध रहेकाले प्रदेश सरकारले मानव बेचविखन तथा ओसारपसारको विरुद्धको कानुनको कार्यान्वयन गरी बेचविखन तथा ओसारपसार नियन्त्रण गर्न सकिने बताउनु भयो ।

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले कोण सभालाई सम्बोधन गर्दै मानव बेचविखन विरुद्ध आवाज उठाउन र यसको न्यूनिकरण गर्नका लागि सबै सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनु भयो ।

photo20240905kailali(3)

 

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी