मानव बेचबिखनविरुद्ध दीप प्रज्वलन कार्यक्रम

  ०८१ साउन १८ गते

WhatsApp Image 2024-08-02 at 8.11.55 PM
“बालबालिका कसैलाई पनि मानव बेचबिखनविरुद्धको लडाईमा पछि नछाडौँ” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस ०८१ साउन १५ गते दीप प्रज्वलन कार्यक्रम गरी सम्पन्न गरिएको छ ।

शान्ति पुनर्स्थापना गृहको आयोजना र सशस्त्र प्रहरी बल, नेपाल रेलवे सुरक्षा बेसको समन्वयमा जनकपुरधामस्थित रेलवे स्टेशनमा मानव बेचबिखनविरुद्ध दिवसमा साउन १५ गते दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।

“मानव बेचबिखनमा परेका महिला, बालबालिका तथा पुरुषहरूलाई बलपूर्वक श्रम, यौन जन्य कार्य र मनोरञ्जनको गतिविधिमा प्रयोग गरिने गरेको सशस्त्र प्रहरी बलका डीएसपी मनोज चन्दले बतउनु भयो । त्यस्तै, महिला र बालबालिकाहरू श्रम शोषण र बलपूर्वक यौनजन्य कार्यको लागि बेचबिखनमा पर्ने गरको परिभाषा निकै पुरानो भइसकेको डीएसपी चन्दले बताउनु भयो ।

महिला मानव अधिकारकर्मी तथा अधिवक्ता रेखा झाले गरीबीको फाइदा उठाउँदै कतिलाई वैदेशिक रोजगारीको प्रलोभनमा पारी त कतिलाई माया जालमा पारेर विवाहको झुठो आश्वासन देखाइ मानव बेचबिखन गर्ने गरेको धेरै उदाहरणहरू भेटिएको बताउनु भयो । मानव बेचबिखन अन्त्य गर्न हरेक राष्ट्रले गरीबी निवारणको कार्यलाई विशेष जोड दिने नीति अपनाउनुपर्ने उहाँले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय धनुषा अन्तर्गत रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इन्सपेक्टर निकिता कुमारी मिश्राले नेपालमा पनि सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी कानुन कार्यान्वयनमा ल्याएको बताउनुहुँदै मानव बेचबिखन कार्य भएको खण्डमा १०० नम्बरमा फोन गरी प्रहरीलाई तुरुन्त जानकारी गराउन आग्रह उहाँले गर्नुभयो ।

आफन्त नेपालका कविता यादवले कहिले बालबालिकाका शरीरबाट अङ्गहरू झिकेर मानव अङ्ग तस्करीका खबरहरू आउँछन् भने कहिले आकर्षक जागिरको प्रलोभनमा पारी भारतको कोठीमा बेचिएका यूवतीहरूको खबर व्याप्त सुन्नमा आइरहेको बताउनु भयो । मानव बेचबिखन तथा ओसारपसारका घटनाहरूको अन्त्य गर्न सरोकारवाला निकाय र संघसस्थाहरू एकजुट भई आवाज उठाउनुपर्ने आवश्यक रहेको यादवले बताउनुभयो ।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, ओरेक, आफन्त नेपाल, निल हिरा समाजलगायतका मानव अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाहरूको सहभागिता रहेको थियो ।

सन्तोषकुमार यादव