मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

  ०८१ माघ १० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

Photo23012024Surkhet

हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार सहायता कक्षको बैठकले विभिन्न चारओटा निर्णयहरु गरेको छ । मुगुको खत्याड गाउँपालिका–५ घर भई वीरेन्द्रनगर नगरपालिका–४ बस्दै आएकी घरेलु हिंसा पीडित ३५ वर्षीया पदमकन्या चौलागाईंलाई कानुनी प्रकियामा जानका लागि १२ हजार रुपियाँ सहयोग गर्ने, यसअघि ०८१ कात्तिक २१ गते बसेको मानव अधिकार सहायता कक्षको सचिवालष् बैठकले गरेका निर्णय अनुमोदन गर्ने, दैलेखको गुराँस गाउँपालिका–८ मा रहेको मालिका माध्यामिक विद्यालयमा शिक्षकले विद्यार्थीलाई गरिएको भनिएको जातिय विभेदको स्थलगत अनुगमन गर्ने र त्यसको अनुगमन खर्च दलित महिला संघ (फेडो) ले व्यवस्थापन गर्ने र सहायता कक्षको बैठकमा खाजा र यातायातको व्यवस्थापन गर्ने फेडोलाई धन्यवाद दिने निर्णय गरेको हो ।

इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीको अध्यक्षतामा बसेको बैठकले आगामी दिनमा सहायता कक्षले कसरी ? प्राभावकारी रुपमा काम गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल गरिएको थियो ।

घरेलु हिंसा पीडित र आर्थिक समस्याकै कारण कानुनी उपचारमा जान नसकेका पीडितलाई मानव अधिकार सहायता कक्षले विगतदेखि नै सहयोग गर्दै आएको इनसेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले बताउनु भयो । उहाँले पीडितलाई यातायात, फोटोकपी र अदालतमा लान्ने शुल्क र खाजा खर्च बापत् आर्थिक सहयोग गर्दै आएको बताउनु भयो । बैठकमा राष्ट्रिय मानव अधिकार आयोग, उच्च बार सुर्खेत, फेडो, आवाज, राष्ट्रिय अपांग महासंघ, वाम, नेपाल पत्रकार महासंघ, ओसिएमसि लगायतका संघ संस्थाबाट प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Photo23012024Surkhet1

जगतदल जनाला विक