मानव अधिकार समूह र बाल अधिकार चेतना समूहको बैठक सम्पन्न

  २०८१ जेठ २४

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा प्रदेशस्तरीय मानव अधिकार समुह र बाल अधिकार चेतना समूहको ०८१ जेठ २४ गते धनगढीमा बैठक तथा छलफल सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले मानव अधिकार समूूह र बाल अधिकार चेतना समूह गठन भएदेखि भएका गतिविधिहरुको अनुभव आदान प्रदान गर्ने उद्देश्यले बैठकको आयोजना गरेको बताउनु भयो ।

मानव अधिकार समूहका प्रदेश संयोजक गोविन्द सापकोटाले बाल अधिकार चेतना समूहले पठनपाठन र नियमित गरिने गतिविधि बाहेक विद्यालयमा दिने दिवा खाजा, सेनेटरी प्याड, विद्यालयबाट वितरण गरिने छात्रबृति तथा बीचमा कक्षा छोड्ने विद्यार्थीहरुलाई पुनःविद्यालय फर्काउने वातावरण बनाउने काम गर्नु पर्ने बताउनु भयो ।

मानव अधिकार समूहका प्रदेश समिति सदस्य आशा परियारले मानव अधिकार चेतना समूहले लैङ्गिक हिंसामा परेका पीडित महिलाको न्यायका लागि घोडाघोडी नगरपालिकाको न्यायिक समितिमा लगेर सहयोग गर्ने गरेको बताउनु भयो ।

बाल अधिकार चेतना समूहकी प्रदेश संयोजक आरती सेठीले विद्यालयमा समूह गठन भएदेखि पठनपाठन बाहेक विद्यालयमा नियमित अतिरिक्त क्रियाकलाप हुने गरेको र विद्यालयमा करेसाबारीको सुरुवात गरी साना कक्षाका भाईबहिनीहरुलाई समेत सहभागि गराउने गरेको बताउनु भयो ।

photo20240606kailali (1)

photo20240606kailali (2)

मैनामोती चौधरी