मानव अधिकार समूहसँग छलफल कार्यक्रम सम्पन्न

  ०८१ असोज १४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजना तथा डिसिएको आर्थिक सहयोगद्वारा गठित मानव अधिकार समूहसँग छलफल कार्यक्रम ०८१ असोज १३ गते बैजनाथ गाउँपालिकामा सम्पन्न भएको छ ।

Photo30092024Banke

बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार समूहका अध्यक्ष भागीलाल विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले विगत पाँच महिनामा मानव अधिकार समूहका पदाधिकारीहरूबाट गरिएको कार्यहरूको समीक्षा गर्दै पाँच बुँदे कार्य योजना सहित समूहलाई स्थानीय तहमा विधिवत रूपमा दर्ता गर्ने कुरा छलफल गर्दै बैठकले निर्णय गरेको छ ।

समूहको छलफलमा बैठकले इन्सेकको सहजीकरणमा तयार भएको विधानलाई अनुमोदन गरी स्थानीय तहमा विधिवत दर्ता गर्ने, पालिकास्तरमा वातावरणीय मानव अधिकार रक्षक समूह टोल टोलमा गठन गर्ने, स्थानीय तहमा वातावरण र मानव अधिकारको प्रत्यभूतिका लागि सहकार्य गर्न समन्वय बैठक बस्ने, फोहोरजन्य पदार्थ व्यवस्थापन गर्न जनचेतना मूलक सुचना प्रवाह गर्ने, जलवायु परिवर्तन सम्बन्धी जनचेतना मूलक अभियान सञ्चालन गर्ने योजना बनाएको छ ।

Photo30092024Banke2

वर्तमानमा मानव जाती वातावरणीय प्रदुर्षण र जलवायु परिवर्तनबाट प्रभावित भएको र मानव जातीनै सङ्कटमा भएकोले वातावरणीय अधिकार र मानव अधिकारलाई सँगै लिएर जानु पर्ने कुरा समूहका अध्यक्ष भागिलाल विश्वकर्माले बताउनु भयो । मानव अधिकार समूहले आफ्नो गाउँठाउमा काम गर्दा सो कुरालाई ध्यान दिनुपर्ने कुरा अगाडि बताउनु भयो ।

बैजनाथ गाउँपालिका-८, टिटहिरिया बस्ने भगवती रोकायालाई बाघले मारेको खबर पाउने वित्तिकै पीडित परिवारलाई क्रियाकाजका लागि स्थानीय तहबाट २० हजार रुपियाँ उपलब्ध गराउन पहल गरेको समूहकी उपाध्यक्ष तुलसी ज्ञवालीले बताउनु भयो । उहाँले बैजनाथ गाउँपालिका-६ का मानसिक रूपमा अस्वस्थ्य बाढी पीडित प्रताप दमाईलाई घरमा बाढी पसेको अवस्थामा उद्धार गरेको उल्लेख गर्नुभयो ।

स्थानीय तहसँग समन्वय गरी आफ्नो समुदायका शुद्ध खानेपानीबाट वञ्चित विपन्न तीन परिवारलाई धारा पानी उपलब्ध गराउन सहयोग गरेको मानव अधिकार समूहका सदस्य कलिराम थारुले बताउनु भयो । युवायुवतीहरूलाई प्रजनन् स्वास्थ्यको बारेमा आवश्यक परामर्शका लागि फ्रि कल परामर्श सेवा व्यवस्थापन गर्न, महिनावारीको बेला गरिने भेदभाव न्यूनीकरणका लागि 'मर्यादित महिनावारी' बनाउनका लागि समूहका सबै सदस्यहरू आ-आफ्ना टोलमा लाग्नुपर्ने समूहको सदस्य अनु रावतको भनाइ छ ।

इन्सेक संरक्षण परियोजना अधिकृत टेकनाथ आचार्यले कार्यक्रमको सहजीकरण गर्दै विद्यमान समस्या समाधानका लागि बैठकमा भएको सहमति, निर्णय, तय गरिएका कार्य योजनाहरू र असल अभ्यासहरूलाई निरन्तरता दिन अनुरोध गर्नुभएको थियो । मानव अधिकार समूहको क्षमता अभिवृद्धी र प्रभावकारी परिचालनको लागि मानव अधिकार समूहसँग छलफल गरिएको अधिकृत आचार्यले जानकारी दिनुभयो ।

Photo30092024Banke3

ध्रुबराज शर्मा