मानव अधिकार समूहका पदाधिकारी र सरोकारवालासँग छलफल

  ०८१ कात्तिक २७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का परामर्शदाता विष्णुप्रसाद पोखरेलले कात्तिक २५ गते माछापुच्छ्रे गाउँपालिकाको मानव अधिकार समूहका पदाधिकारीसँग भेटघाट गरी छलफल गर्नुभएको छ । सो अवसरमा परामर्शदाता पोखरेलले गाउँपालिका उपाध्यक्ष सीता अधिकारीसँग पनि छलफल गर्नुभएको छ ।

photo20241112kaski (9)

इन्सेकले साढे दुई वर्षदेखि माछापुच्छ्रे गाउँपालिकामा बालबालिका, शिक्षा, स्वास्थ्य वातावरण तथा जातीय विभेदका मुद्दामा केन्द्रीत भएर काम गर्दै आएको छ । परामर्शदाता पोखरेलले गाउँपालिकामा इन्सेकका गतिविधि, बालबालिकासँग छलफल र समूहसँगका कार्यक्रमको बारेमा जानकारी लिनुभएको हो ।

इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेलले गाउँपालिकामा इन्सेकले जनचेतनाका काममा मुख्य जोड दिएको बताउनु भयो ।

मानव अधिकार समूहका अध्यक्ष कुलप्रसाद अधिकारीले बजेट अभावकै बिच इन्सेकले परिकल्पना गरेका धेरै महत्वपूर्ण काम गरेको सुनाउनु भयो । समूहकै कारणले गाउँपालिकामा सामूहिक भोज खुवाउन आफूहरु सफल भएको उहाँको भनाइ थियो ।

गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले इन्सेकले सचेतनाका काम गरेर आफूहरूलाई झक्झक्याइरहेको बताउनु भयो । उहाँले इन्सेकले गठन गरेको मानव अधिकार समूह गाउँपालिकामा छिट्टै दर्ता हुने पनि बताउनु भयो ।

माछापुच्छ्रे माविको बाल क्लबकी सचिव बन्दना पोखरेलले सडक नाटक र सरसफाईका कार्यक्रम गरेकाले अरु विद्यालयले पनि त्यसबाट सिकेको बताउनु भयो ।

photo20241112kaski (3)

त्यसैगरी छलफल कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटाले इन्सेकले गण्डकी प्रदेशको नीति निर्माणमा महत्वपूर्ण सहयोग पुर्‍याएको बताउनु भयो ।

उहाँले प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा मानव अधिकारका विषय समेट्न इन्सेकले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।

मुख्यमन्त्री कार्यालयको कानुन महाशाखाका सचिव धर्मराज कुँइकेलले इन्सेकसँग सहकार्य गर्नेगरी इन्सेकसँग सहकार्यमा प्रदेशभर कार्यक्रम सञ्चालन गरिने बताउनु भयो ।

कास्कीका जिल्ला समन्वय समिति अधिकारी नवराज बरालले मानव अधिकार राष्ट्रिय कार्ययोजनालाई स्थानीयकरण गर्न इन्सेकको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।

photo20241112kaski (1)
पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाकी प्रमुख निर्मला शर्माले इन्सेकसँग सहकार्य गर्नेगरी यो आर्थिक वर्षमा काम गर्नका लागि १ लाख रुपियाँ विनियोजन गरेको बताउनु भयो ।

सञ्जय रानाभाट