मानव अधिकार सङरक्षण सम्बर्धनका लागि सबै एकजुट हुनु पर्नेमा जोड

  ०७८ मङ्सिर २५ गते

 

बाँके प्रतिनिधि स्मृति देवकोटाका  अनुसार मानव अधिकार सङ्रक्षण सम्बर्धनका लागि सबै एकजुट हुन पर्नेमा एक कार्यक्रममा जोड दिइएको छ । ७३ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग र  मानव अधिकार सञ्जाल, नेपालगञ्जको आयोजनामा मङसिर २५ गते नेपालगञ्जमा आयोजित १३ औं मानव अधिकार महा भेलामा उपस्थित सहभागिहरूले उक्त कुरामा जोड दिएका हुन् । जिल्ला समन्वय समितिका बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवले  संविधानले दिएको अधिकारको सही तरिकाले उपयोग गर्न सबैमा आग्रह गर्नु भयो । उहाँले आफुले पनि सधै संविधानको पालना गरेर निति तथा कानुनको कार्यान्वयन गर्नमा अघि बढेको बताउनु भयो ।जिल्ला प्रशासन कार्यालयका  सहायक प्रमुख जिल्ला अधिकारी  दिर्घराज उपाध्यायले नागरिक र सरोकारवालाबिच दुरी बढेकोले प्रत्येक नागरिकले अधिकारलाई मात्र नभएर कर्तव्यलाई पनि सम्झनु पर्ने बताउनु भयो ।राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख झंकरबहादुर रावलले १९४८ सालमा सार्वजनिक भएको विश्वव्यापि घोषणा पत्रमा उल्लेख गरिएका कुराहरूलाई उत्थान गदै सबैले विश्वव्यापि घोषणा पत्रको सम्मान गर्नुपर्ने बताउँदै लैङ्गिक हिंसा आफूपनि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धता जनाउनु भयो ।इन्सेक लुम्बिनि प्रदेश संयोजक भोला महतले  मानव अधिकार सङरक्षण र सम्बर्धनमा सबै सरोकारवाला निकाय सम्वेदशील हुनुपर्ने बताउदै बर्तमान अवस्थालाई सम्झेर भविष्यका योजनाहरू बनाउनु पर्ने  बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका डिएसपि मधुसुधन न्यौपानेले नेपाल प्रहरीले आफ्नो कर्तब्य निर्वाह गर्ने बेलामा शान्ति सुरक्षा कायम गर्ने र अपराध अनुसन्धान गर्दा नागरिकको अधिकारको सङ्रक्षण ध्याानमा राखेर काम गर्दै आएको बताउनु भयो ।

अर्घाखाँची प्रतिनिधि कूलबहादुर नेपालीका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अर्घाखाँचीको आयोजनामा र गैरसरकारी संस्था महासंघ अर्घाखाँचीको सहयोगमा ७३ औं अन्तर्राष्टिय मान अधिकार दिवशको अवसरमा अन्तरक्रिया सम्पन्न भएको छ । प्रदेश सभा  सदस्य रामजीप्रसाद घिमिरेले  नेपालमा राजनीतिक परिबर्तन भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक परिबर्तन हुन नसकेको बताउनु भयो । घिमिरेले द्वन्द्वको समयमा जस्ता घटना नभएपनि मानव अधिकारको प्रत्याभूति हुन नसकेको बताउनु भयो । जिल्ला  बारका पूर्ब अध्यक्ष केबी भुसालले कानुन कार्यान्वयनको अवस्था कमजोर रहेकोले ज्यादतीका घटना बढी भएको बताउनु भयो ।

दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा विभिन्न मानव अधिकार संघ संस्थाको संयुक्त आयोजनामा मङसिर २४ गते घोराहीमा ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । कार्यक्रममा सार्वजनिक स्थानमा महिला तथा बालवालिकामाथि हुने दुर्व्यवहार न्यूनिकरण गर्ने विषयमा अन्तक्र्रिया समेत गरिएको थियो । कार्यक्रममा बोल्दै सहभागिहरूले सार्वजनिक यातायात, विद्यालय, होटललगायतका क्षेत्रमा महिला तथा बालवालिकामाथि दुर्व्यवहार तथा हिंसा हुने गरेको भन्दै मानव अधिकार सँस्कृतिको विकासमा जोड दिएका थिए ।

इन्सेक, लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज