मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

  ०७८ मङ्सिर १४ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर १२ गते सम्पन्न गरिएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहले ०७७ पुस १७ गतेदेखि ०७८ मङसिर १२ गतेसम्म सङ्कलन गरिएका १० ओटा घटना प्रस्तुत गर्नु भएको छ ।

सम्मानित रूपले बाँच्न पाउने अधिकारसँग सम्बन्धित तीन ओटा, स्वास्थ्य अधिकारको एउटा, बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहारका पाँच ओटा र आर्थिक तथा समाजिक अधिकारको एउटा घटना प्रस्तुत गरिएको जिल्ला प्रतिनिधि सिंहले बताउनु भयो ।

हालसम सङ्कलन गरिएका तर पुष्टि गर्न बाँकी भएमा सम्बन्धित सरोकारवाला निकाय तथा स्थानीय तहमा गएर समेटनु पर्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनु भयो ।

इन्सेकले सङ्कलन गरेका घटनाहरूको सम्पादन गर्दै सो घटना प्रति सम्बन्धित निकायहरूको पनि ध्यान जानु जरुरत देखिएको प्रजिअ आचार्यले बताउनु भयो ।

नेपाली कांग्रेसका जिल्ला उपसभापति बसन्त रोकायाले जिल्लामा भएका घटनालाई सङ्कलन गरी अभिलेख राख्दा पीडितले कुनै न कुनै दिन न्याय पाउने बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा हुम्लाका अध्यक्ष राजन रावतले भौगालिक बनावटका कारण घटना सङ्कलनमा समस्या हुने गरेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी हेरम्व शर्माले हुम्लामा मानव अधिकारको अवस्था सुदृढ राख्न प्रहरी सक्षम रहेको बताउनु भयो ।

खाद्यान्नको अभाव र बाढी पहिरोबाट समस्या झेल्दै आएका घटनाहरूलाई पनि इन्सेकले अभिलेखिकरण गर्नुपर्ने नेकपा एमाले जिल्ला कमिटीका सदस्य छक्क रोकायाले बताउनु भयो ।

m
m

अनलाइन डेस्क