मानव अधिकार वर्ष पुस्तकको अर्धवार्षिक पुर्वसमीक्षा सम्पन्न

  ०७४ जेठ २५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीको आयोजनामा जेठ २५ गते बेनीमा नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पुर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

Photo20170608Myagdi

जिल्ला स्थित सरोकारवालाबिच कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा जिल्लामा सन् २०१७ को पहिलो ६ महिनामा भएका मानव अधिकार उल्लङ्घन तथा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको क्रममा निर्वाचन आचारसंहिता पालना तथा उल्लङ्घन भए नभएका विषयमासमेत छलफल गरिएको थियो ।

कार्यक्रममा वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा म्याग्दी जिल्लामा चुनाव प्रचारप्रसारमा बालबालिकाहरू प्रयोग भए वा भएनन् भन्ने विषयलाई प्राथमिकताका दिइएको थियो । कार्यक्रममा सहभागीहरूले निर्वाचन प्रचारमा आंशिक रूपमा बालबालिकाको उपस्थिति भएको बताएका थिए ।

कार्यक्रममा म्याग्दी जिल्लामा २०१७ को ६ महिनामा जिल्ला प्रहरी कार्यलयस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा सामान्य खालका महिला हिंसाका उजुरीहरू बाहेक कुनै जटिल प्रकृतिका उजुरी नपरेको इन्सपेक्टर दिवाकर घिमिरेले बताए । गत वर्षको तुलनामा यस वर्ष बलात्कार र यौनजन्य हिंसाका घटना शुन्यमा रहेको समेत उनले बताए । घिमिरेले भने-'यो वर्षको जनावरीदेखि हालसम्मको अवधिमा बलात्कार तथा बलात्कार प्रयास र यौन दुर्व्यवहारका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छैनन् ।'

अमृत बास्कुने