मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

मानव अधिकारको रक्षा गर्नका लागि राज्य जिम्मेवार भएर लाग्नुपर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । इन्सेक रूपन्देहीले आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रमका सहभागी सरोकारवालहरूले यस्तो कुरामा जोड दिएका हुन् ।

Photo20170614Rupandehi

इन्सेक जिल्ला प्रतिनिधि रीमा बि.सी.ले जिल्लामा ६ महिनामा सङ्कलन गरिएका ३ सय २० ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गरेकी थिइन् ।

उक्त घटनाहरूमध्ये बाल अधिकार अन्तर्गत बलात्कारका २५ ओटा, यौन दुर्व्यवहारका नौ ओटा, बाल विवाहका दुई ओटा, महिला अधिकार अन्तर्गत कथित बोक्सीको आरोप एउटा, मानव बेचबिखन तथा ओसार पसारका १२ ओटा, छुवाछुतको एउटा र घरेलु हिंसाका २ सय ७१ ओटालगायतका रहेका छन् ।

Photo20170614Rupandehi1

कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले तुलनात्मक रूपमा महिला तथा बालिका विरूद्ध हुने हिंसा बढेको बताए । उनले मानव अधिकार संरक्षण गर्नका लागि प्रहरी सक्रिय रूपमा लागेको बताए ।

सशस्त्र प्रहरी बलका डिएसपी सञ्जय भट्टराईले सशस्त्र प्रहरीले मानव अधिकार संरक्षण र सम्मानका लागि आफ्नो सङ्गठन निरन्तर रूपमा लागि परेको बताए । उनले इन्सेकले मानव अधिकारको उल्लङ्घनका घटनाहरूको अभिलेखीकरण मात्र नगरेर मानव अधिकार शिक्षालाई पनि जोड दिन आग्रह गरे ।

Photo20170614Rupandehi2

पूर्व सांसद तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य विनोद पहाडीले मानव अधिकारको आन्दोलनमा इन्सेकको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए । पहाडीले सरकारले गर्न नसकेको विभिन्न कालखण्डका घटनाहरूको अभिलेखीकरणका काम इन्सेकले गरेको भन्दै खुलेर प्रसंशा गरे ।

उनले राष्ट्रिय अनुसन्धान आयोगसँग नभएको घटनाको अभिलेखीकरण इन्सेकसँग भएकोले इन्सेकले अन्तर्राष्ट्रिय रूपमै नेपालको इज्जत जोगाएको बताए । उनले कार्यशैलीलाई परिवर्तन गरेर घटनाको अनुगमनसँगै मानव अधिकार शिक्षालाई जोड दिन इन्सेकलाई सुझाव दिए ।

कार्यक्रममा नेकपा एमालेका प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले इन्सेकले मानव अधिकारको क्षेत्रमा देशका ७५ ओटै जिल्लामा जिल्ला प्रतिनिधि राखेर सरकारले गर्न नसकेको काम गरेको भन्दै प्रसंशा गरे । केसीले इन्सेकले अब जनताको अभिमतलाई कुल्चिने राजनीतिक दलहरूलाई पनि खबरदारी गर्न लाग्नुपर्ने बताए । 'मानव अधिकारकर्मीको काम अब बल्ल सुरू हुँदैछ । अब जाग्नुहोस । इन्सेकले राजनीतिक पार्टीका अपराधिक र उल्लङ्घनका सत्य तथ्य कुराहरूलाई उजागर गर्नुपर्छ ।'-केसीले भने ।

पत्रकार महासङ्घ रूपन्देहीका पूर्व अध्यक्ष शेरबहादुर केसीले विगतको तुलनामा अहिले विभिन्न खालका घटनाहरूका पीडितहरू खुलेर आउन थालेको पक्ष सकारात्मक भएको र घटनाहरूको गहिराईसम्म पुगेर इन्सेकले घटना बाहिर ल्याउन प्रयत्न गरेको बताए ।

रीमा बि.सी.