'मानव अधिकार वर्षपुस्तक-२०१७' को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

  ०७३ मङ्सिर २० गते

मानव अधिकार वर्षपुस्तक-२०१७ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २० गते इलाममा सम्पन्न भएको छ ।

photo20161205ilam

कार्यक्रममा सन् २०१६ को जनवरी देखि डिसेम्बरको हालसम्मका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका अभिलेखित घटनाहरूको विवरणमाथि छलफल भएको थियो ।

मानव अधिकारकर्मी मोहनसिंह थेवेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेक प्रतिनिधि कोकिला ढकालले जनवरीदेखि डिसेम्बरसम्मका घटना समेटिएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन्  ।

प्रतिवेदनमा एक वर्षको अवधिमा १६ जना बालिका र आठ जना महिला गरी २४ जनामा बलात्कार तथा बलात्कारका प्रयास र यौन दुर्व्यवहारका, सात ओटा बहुविवाहका घटना, ४१ ओटा घरेलु हिंसाका घटना, बालविवाहको एक, जातीय विभेदको एकलगायतका घटना भएको उल्लेख छ ।

कार्यक्रममा कानुनी मान्यता पाएको ज्येष्ठ नागरिकहरूका लागि सरकारी निकायबाट दिइने सुविधा व्यवहारमा लागू नहुँदा ज्येष्ठ नागरिकलाई सम्मान जनक ढङ्गको व्यवहार नभएको बताए ।

इन्सेकका तर्फबाट प्रस्तुत प्रतिवेदनका अनुसार सन् २०१४ देखि २०१६ सम्मका घटना क्रमलाई हेर्दा बालिका बलात्कार, बहुविवाह, घरेलु हिंसा जस्ता घटनाहरूको अवस्था अझ बढ्दो रूपमा रहेकाले त्यसको न्यूनिकरणमा सरोकारवालाहरूले ध्यान दिनुपर्ने सहभागीको जोड थियो ।

बलात्कारका पीडित तथा हिंसा पीडितहरूलाई सुरक्षित आवासको व्यवस्था गर्नुपर्नेमा समेत सरोकारवालाले जोड दिएका छन् ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी टङ्कप्रसाद गौतमले घरबास र अभिभावकसमेत नभएका बालबालिका इलाममा पनि रहेको र तिनीहरूको शिक्षाको अधिकारलाई स्थापित गराउन शिक्षा कार्यालयलाई समेत समस्या भएको बताए । उनले भने-'अहिले पनि त्यस्ता सात जना बालबालिका छन् । उनीहरूलाई कहाँ राखेर संरक्षण गर्ने र शिक्षा दिने भन्ने विषय चुनौती बनेको छ ।'

कार्यक्रममा इलामका एसपी शुशिलकुमार यादवले पीडितलाई न्याय दिनका निम्ति प्रहरीले जस्तो सुकै मुल्य चुकाउन पछि नपर्ने र गाउँमा मिलाउन नहुने किसिमका मुद्धा पनि मिलाइएको अवस्थामा संलग्नहरूलाई समेत कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मानव अधिकार आयोगका पूर्वाञ्चल क्षेत्रीय कार्यालयका निर्देशक झङ्कर रावलले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारप्रति सचेत बन्नु पर्ने बताए । उनले हरेक क्षेत्रमा अरबौँको बजेट खर्च भएपनि सर्वसाधारण नागरिक मानव अधिकारको आधारभूत आवश्यकताबाट पनि वञ्चित भएको अवस्था पाइएको बताए । कार्यक्रममा स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्काले विकासको अधिकारबाट नागरिक पीडित भएको धारणा राखे ।

कार्यक्रममा मानव अधिकार मञ्चका योगराज सापकोटाले जिल्लाको समग्र मानव अधिकारको अवस्था विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।  कार्यक्रममा जिल्ला बार एशोसिएशनका अध्यक्ष सुधिर बोहरा, अधिवक्ता टीका भारद्वाज, जिल्ला युवा समितिका अध्यक्ष नवराज शङ्कर, नेपाली काङ्ग्रेसकी पुष्पा खनाल, पत्रकार महासङ्घका पूर्व सभापति सोमनाथ शुसेली, अनेरास्ववियुका जिल्ला अध्यक्ष इश्वरी तामाङलगायतले जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा नागरिकका अधिकारका विषयमा धारणा राखेका थिए ।

कोकिला ढकाल