मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा

इन्सेकद्वारा प्रकाशन गरिने नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सन् २०१६ मा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर २८ गते सम्पन्न भएको छ ।

photo20161213makawanpur

कार्यक्रममा इन्सेक मकवानपुर जिल्ला प्रतिनिधि प्रताप विष्टले सन २०१६ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका सङ्कलित घटनाहरूको प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्षपुस्तक ऐतिहासिक दस्तावेज भएको बताउँदै यसलाई समय सापेक्ष रूपमा परिमार्जन गर्न आग्रह गरे ।

उक्त पुस्तकमा नागरिक अधिकारका घटनाहरू मात्र समेटिने तर आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उल्लङ्घन भएका घटनाहरू नसमेटिने भएकाले यसलाई पनि समेटन सुझाव दिएका थिए ।

जिल्ला बार एसोसियशनका अध्यक्ष अज्मिर केसीले प्रकाशन पूर्व समीक्षा कार्यक्रमले वर्षपुस्तकमा छापिने घटनाहरू सत्यतथ्यमा आधारित हुने र उल्लङ्घनका घटनाहरू नछुटने बताए ।

कार्यक्रममा माइती नेपाल मकवानपुरकी प्रमुख माया लामाले प्रतिवेदनमा छुट भएका घटनाहरू समावेश गर्न आग्रह गरेकी थिइन् ।

प्रतिवेदनमा राज्यबाट भन्दा पनि गैरराज्य पक्षबाट मानव अधिकारका उल्लङ्घन तथा ज्यादतीका घटनाहरू बढी भएको उल्लेख छ ।

यस अवधिमा १२ जना बालिका वलात्कृत भएका घटना अभिलेख गरिएको इन्सेक मकवानपुर जिल्ला प्रतिनिधि प्रताप विष्टले जानकारी दिएका छन् । यो अवधिमा चार जना महिला बलात्कृत भएका छन् भने मानव बेचविखनका चार ओटा घटना र बहुविवाहका आठ ओटा घटना अभिलेख गरिएको प्रतिवेदनमा जनाइउको छ ।

इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालय, काठमाडौँ