मानव अधिकार र मानवीय अवस्थाका विषयक अन्तरक्रिया सम्पन्न

  ०७९ फागुन १७ गते

मानव अधिकार र मानवीय अवस्था विषयक अन्तरक्रिया कार्यक्रम फागुन १७ गते विराटनगरमा सम्पन्न गरिएको छ ।

इन्सेक प्रदेश १, कार्यालयको आयोजनामा प्रदेश १, को मानव अधिकार र मानवीय अवस्थाका बारेमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

Photo 20230301 Morang (4)

अन्तरक्रिया कार्यक्रममा इन्सेक अध्यक्ष डाक्टर कुन्दन अर्यालले इन्सेकले विगत ३० वर्ष देखि मानव अधिकार उल्लङघन तथा ज्यादतीका घटनाहरू प्रमाणका आधारमा नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको बताउनु भयो ।

उहाँले पुस्तकमा नेपालको मानव अधिकारको अवस्थाबारे स्पष्ट चित्रण गरिदैँ आएको बताउनु भयो । अध्यक्ष अर्यालले विगतमा भन्दा नेपालमा मानव अधिकारका घटनाको प्रकृति बदलिँदै गएको बताउनु भयो । उहाँले घरेलु हिंसा, लैङ्गिक हिंसाका घटना धेरै हुने गरेको देखिएकाले त्यस्ता घटनाको न्यूनीकरणका लागि पैरवी आवश्यक रहेको बताउनु भयो ।

अध्यक्ष अर्यालले परम्परादेखि कमजोर बनाइएका वर्गको अवस्था सुधार गर्न  विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले पम्परागत सामाजिक कुप्रथा विरुद्ध र नागरिकका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयमा सरकारको विशेष ध्यान जान आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो‘नागरिकका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयलाई सबै पक्षले  विषेश ध्यान दिन जरुरी देखिएको छ ।’

अध्यक्ष अर्यालले न्यायप्राप्तिको प्रक्रिया जटिल हुँदा न्याय पाउनबाट धेरै नागरिक वञ्चित भएको बताउनु भयो । उहाँले राज्यले कानुन बनाए पनि कानुन कार्यान्वयन प्रभावकारी नहुँदा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा अझै पनि पीडितहरूले न्याय नपाएको बताउनु भयो ।

अन्तरक्रियामा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १, का निर्देशक पवन भट्टले नेपालमा मानव अधिकार संरक्षण र सम्वद्र्धनका विषयमा प्रशस्त कानुन भए पनि कार्यान्वयनको अवस्था कमजोर रहेको बताउनु भयो । उहाँले संविधानमा मौलिक हकको लामो सूची भए पनि सम्मानपूर्व बाँच्न पाउने अधिकारबाट समेत नागरिक वञ्चित भएको बताउनु भयो ।

Photo 20230301 Morang (3)

श्रमिकहरू सङ्गठन जिफण्डका मुरारी भट्टराईले श्रमिकको मुद्दा ओझेलमा परिरहेकोले अब श्रमिक मुद्दा इन्सेकले उठान आवश्यक रहेको बताउनु भयो । उहाँले श्रमिकहरूले न्यूनतम पारिश्रमिक नपाएको, अस्पताल, स्कुल, होटलहरूले श्रम शोषण गरिरहेको विषयमा आवाज उठाउन जरूरी रहेको बताउनु भयो ।

परिवर्तनशील समाजकी कार्यक्रम संयोजक मुस्कान श्रेष्ठले राजनीतिक परिवर्तन भए पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यको समस्या जस्ताको त्यस्तै रहेको बताउनु भयो । उहाँले राज्यका संरचानाहरूसमेत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमैत्री नरहेको गुनासो गर्नुभयो ।

Photo 20230301 Morang (1)

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घका सन्तोष पण्डित, माइती नेपालका विनोद पोखरेल,कोक्यापका प्रकाश परियार,गैरसरकारी संस्था मोरङकी अध्यक्ष विष्णु शर्माले संविधानमा मौलिक अधिकार र मानव अधिकारका  धेरै विषय सम्बोधन भए पनि कार्यान्वयनमा समस्या देखिएको बताउनु भयो ।

अन्तरक्रियामा इन्सेक प्रदेश १, कार्यालयका प्रलेख अधिकृत पुण्य अधिकारीले  मानव अधिकार र प्रदेश १, विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

सो अवसरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि मानव अधिकार उल्लङघन तथा ज्यादतीका घटनाको प्रदेशमा उत्कृष्ट अभिलेखीकरण गर्नु भएका इन्सेक धनकुटा प्रतिनिधि ईश्वर थापालाई नगद सात हजार रुपियाँ, उत्कृष्ट प्रतिनिधि उल्लेख भएको इन्सेकको लोगो र प्रशंसापत्रले सम्मान गरिएको इन्सेक प्रदेश १, प्रमुख सोमराज थापाले बताउनु भएको छ ।

Photo 20230301 Morang (5)

अन्तरक्रिया कार्यक्रममा इन्सेकले शिक्षा, स्वास्थ्य, कारागार, बाल सुधारगृहलगायतका विषयमा विषय उठान गर्नुका साथै सरोकारवालाबिच छलफल गरेको छ ।

Photo 20230301 Morang (2)

Photo 20230301 Morang (6)

विनोद सुवेदी