मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा प्रदेश सरकार प्रतिवद्ध छ: प्रदेश प्रमुख

  ०७९ फागुन १८ गते

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम सापुङ्गले मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्यायोजना कार्यान्वयनमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।

प्रदेश प्रमुख खापुङले चैत १७ गते आफ्नो कार्यकक्षमा इन्सेक अध्यक्ष डाक्टर कुन्दन अर्याल, कार्यकारी निर्देशक विजयराज गौतम, कार्यसमिति सदस्य नरनाथ लुईटेल र इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापासँगको भेटमा मानव अधिकार कार्ययोजना कार्यान्वयनका प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको हो ।

Photo 20230302 Morang (2)
कोशी प्रदेश प्रमुखसँग कार्यकक्षमा भेट पश्चता सामूहिक तस्विर लिने क्रममा इन्सेक अध्यक्ष डाक्टर कुन्दन अर्याल, कार्यकारी निर्देकश विजयराज गौतमलगायत इन्सेक टोली ।

भेटमा इन्सेक अध्यक्ष डाक्टर कुन्दन अर्यालले कोशी प्रदेशको मानव अधिकार अवस्था, प्रदेशभित्र रहेका कारागार र बालसुधार गृहको अवस्थामा बारेमा संक्षिप्त व्रिफिङ गरेपछि प्रदेश प्रमुख खापुङ्गले प्रदेश सरकार मानव अधिकार रक्षाका लागि सदैव प्रतिवद्ध भएको बताउनु भयो ।

प्रदेशको मानव अधिकार अवस्थाका बारेमा प्रदेश प्रमुखलाई जानकारी गराएपछि सोही टोलीले फागुन १७ गते कोशी प्रदेशका डिआइजी श्याम ज्ञवालीलाई कोशी प्रदेश प्रहरी कार्यालयमा भेट गरी मानव अधिकार अवस्थाका विषयमा जानकारी लिएको छ ।

डिआइजीसँगको भेटमा अध्यक्ष अर्यालले लोकतन्त्रपछि प्रहरी सङ्गठनभित्र मानव अधिकारका सवालमा निकै सुधार भएको भएपनि कतिपय अवस्थामा कारागारभित्र कैदी तथा बन्दीको मृत्यु, प्रहरी हिरासतमा भएका मृत्युले मानव अधिकारको विषयलाई सम्वेदनशील बनाएको बताउनु भयो ।

Photo 20230302 Morang (4)

डिआइजी ज्ञवालीले मानव अधिकारलाई प्रहरीले पहिलो प्राथमिकतामा राखी काम गर्दै आएको बताउनु भयो । उहाँले कतिपय आन्दोलन वा केही झडपमा घटनामा प्रहरीले संयममितता अपनाउँदा अपनाउँदै पनि कहिलेकाँही घटना हुने बताउनु भयो । डिआइजी ज्ञवालीले प्रहरीको काम कानुन पालना भएकाले प्रहरी सदैव मानव अधिकारप्रति गम्भीर भएको बताउनु भयो ।

इन्सेकको टोलीले कोशी प्रदेशको मानव अधिकार अवस्था र मानव अधिकार रक्षाका लागि कोशी प्रदेशमा मानव अधिकार रक्षकको अवस्थासतिह समग्र मानव अधिकारका सवालमा फागुन १७ गते विराटनगरमा अधिकारकर्मीसँग छलफल गरेको छ ।

Photo 20230302 Morang (1)

इन्सेक अध्यक्ष डाक्टर अर्याल, इन्सेक कार्यकारी निर्देशक विजयराज गौतम, कार्यसमिति सदस्य नरनाथ लुइटेल र इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापाको टोलीले वरिष्ठ पत्रकार यज्ञ शर्मा, राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालयका निर्देशक पवनकुमार भट्ट, प्राध्यापक डिल्ली प्रसाई, ज्येष्ठ नागरिक महासङ्घ कोशी प्रदेश अध्यक्ष मणिकुमार अर्याललगायतसँग प्रदेशको मानव अधिकार अवस्था, प्रदेश सरकारको नीति तथा कार्यक्रम, मानव अधिकार रक्षकको अवस्था, महिला, बालबालिका, दलित, अपाङ्गता, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यलगायतको मानव अधिकारका विषयमा छलफल गरेको छ ।

इन्सेक टोलीले भेटघाटका क्रममा फागुन १८ गते कोशी प्रदेश सामाजिक विकासमन्त्री वुद्धिकुमार राजभण्डारीसँग कार्यकक्षमा भेटी प्रदेशको शिक्षालगायतका अवस्थाका बारेमा जानकारी लिएको छ ।

Photo 20230302 Morang (5)

संविधानले शिक्षालाई मौलिक हकका रूपमा व्यवस्था गरेकाले प्रदेशमा शिक्षा प्राप्तिको अवस्था, बालबालिकाको विद्यालय भर्नादर, पाठयपुस्तकको उपलब्धतालगायतका विषयमा जानकारी लिएको छ ।

भेटका क्रममा सामाजिक विकासमन्त्री वुद्धिकुमार राजभण्डारीले प्रदेश सरकारले विद्यालय नर्सिङ्ग कार्यक्रमलगायतका विषयमा टोलीलाई जानकारी गराउनु भएको छ ।

सोही दिन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेट गरी अनुगमन टोलीले सन २०२२ को मानव अधिकार अवस्थाको बारेमा जानकारी गराउँदै प्रदेश सरकारले मानव अधिकारका सवालमा तय गरेका नीति तथा कार्यक्रममा विषयमा जानकारी लिएको छ ।

Photo 20230302 Morang (7)

मुख्यमन्त्री कार्कीलाई इन्सेकले कोशी प्रदेशको मानव अधिकार अवस्थाको प्रतिवेदनसहित शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, कारागार र बालसुधार गृह अवस्थामा विश्लेषण गरी तयार पारिएको प्रतिवेदन उपलब्ध गराएको छ ।

Photo 20230302 Morang (8)

मुख्यमन्त्री कार्कीले इन्सेकले प्रतिवेदनमा औल्याएका मानव अधिकार सवाललाई सम्बोधन गर्ने प्रतिवद्धताका साथै प्रदेशको मानव अधिकार अवस्थाको बारेमा जानकारी गराउनु भएको छ ।

भेटका क्रममा इन्सेक अध्यक्ष डाक्टर अर्यालले नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२३ प्रदेश प्रमुख, डिआइजी, सामाजिक विकास मन्त्री र मुख्यमन्त्रीलाई हस्तान्तरण गर्नु भएको छ ।

इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर