मानव अधिकार प्रलेखसम्बन्धी दुई दिवसीय तालिम सम्पन्न

  ०७८ असोज ६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १, कार्यालयको आयोजनामा प्रदेश १ का १४ ओटा जिल्ला र प्रदेश २ का आठ ओटा जिल्लाका प्रतिनिधिहरूलाई मानव अधिकार प्रलेख, पैरवी र डिजिटाइजेशनसम्बन्धी दुई दिवसीय तालिम असोज ५ गते विराटनगरमा सम्पन्न भएको छ ।

तालिमको उद्घाटन सत्रमा इन्सेक अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले इन्सेकले गर्ने काम र कर्तव्यको बारेमा जिल्ला प्रतिनिधि प्रष्ट हुनु पर्ने बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले नेपालको मानव अधिकार अभियानमा इन्सेकको विशेष महत्व भएकाले सोही अनुसार इन्सेक प्रतिनिधिले जिल्लामा भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना अभिलेखीकरण गर्नुका साथै पीडितको न्याय प्राप्तिका लागि इन्सेक प्रतिनिधिले विशेष भूमिका खेल्न आवश्यक रहेको बताउनु भयो ।

इन्सेक पूर्व सचिव डाक्टर कुन्दन अर्यालले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूका आधारमा इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्कत प्रकाशन गर्ने भएकाले इन्सेक प्रतिनिधिले मानव अधिकार उल्लङ्घन र ज्यादती घटनामा मिहिन ढङ्गले केलाउन जरूरी भएको बताउनु भयो ।

डाक्टर अर्यालले इन्सेकले मानव अधिकार पत्रकारिता समेत गर्ने भएकाले मानव अधिकारका समाचारलाई इन्सेक प्रतिनिधिले प्राथमिकता राख्न जोड दिनु भयो ।

कार्यक्रममा मानव अधिकार प्रलेख तथा प्रसार विभाग प्रमुख श्रीराम बजगाँईले इन्सेकले वर्ष पुस्तकका साथै विभिन्न प्रकाशन गर्ने भएका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालमा जिल्ला प्रतिनिधिले खोजी समाचार लेख्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले मानव अधिकारका सवालहरूलाई नेपालको संविधान, मानव अधिकारसँग सम्बन्धित महासन्धीमा नेपाल पक्ष राष्ट्र भएका कारण राज्यले मानव अधिकार रक्षाका लागि के कति प्रयास गर्‍यो वा गरेन भन्ने विषयमा इन्सेक प्रतिनिधिले समाचारका माध्यमबाट खबरदारी गर्न आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा इन्सेक अनलाइन सम्पादक रमेशप्रसाद तिमल्सिनाले जिल्ला प्रतिनिधिहरूलाई मानव अधिकार पत्रकारिताका विषयमा सहजीकरण गर्नु भएको थियो ।

तालिममा तथ्याङ्क अधिकृत अनुज केसीले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूहरूको अभिलेखीकरणले विशेष महत्व राख्ने भएकाले जिल्ला प्रतिनिधिले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूलाई यथेष्ट रूपमा रूजु गरेपछि मात्र अभिलेखीकरण गर्न आग्रह गर्नु भयो ।

उहाँले इन्सेकले नेपालको मानव अधिकारको समग्र अवस्था प्रतिविम्व गर्ने गरि रिपोर्टहरू प्रकाशन गर्ने भएकाले घटना अभिलेखीकरणमा जिल्ला प्रतिनिधिले विशेष होसियारीका साथ कार्य गर्नुपर्ने बताउनु भयो ।

इन्सेक अनलाइन अङ्रेजी सम्पादक आर्या अधिकारीले वर्तमान समयमा डिजिटल सुरक्षा र चुनौतीका विषयमा सहजीकरण गर्नु भएको थियो ।

तालिममा इन्सेक प्रदेश १ प्रमुख सोमराज थापाले मानव अधिकारका सवालमा नेपालमा राजनीतिक अधिकार भन्दा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवाललाई इन्सेकले प्राथमिकतामा राखि कार्य सम्पादन गर्दै आएकोले जिल्ला प्रतिनिधिले मानव अधिकार रक्षाका लागि विशेष भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनु भयो ।

इन्सेक प्रदेश २ प्रमुख राजु पासवानले तराईमा महिला तथा बालबालिकामाथि विभिन्न किसिमका हिंसा हुने भएकाले त्यसको न्यूनीकरण लागि मानव अधिकार समाचारमार्फत इन्सेक जिल्ला प्रतिनिधिले भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

तालिममा समापनका अवसरमा जिल्ला प्रतिनिधिहरूले मानव अधिकार र नेपालको संविधानले व्यवस्था गरेका ३१ ओटा मौलिक हकका विषयमा छलफल गरेका थिए ।

Photo 20210920 Morang (1)

Photo 20210920 Morang (4)  Photo 20210920 Morang (5)

Photo 20210920 Morang (6)

अर्जुन दर्जी