मानव अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

  ०७८ चैत १३ गते

विनयी त्रिवेणी गाउँपालिकामा मानव अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम चैत ११ गते सम्पन्न गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजना, विनयी त्रिवेणी गाउँपालिकाको सहयोग र मानव अधिकार समूह विनयी त्रिवेणी गाउँपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ र २ का सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

Photo20220328Nawalpur1

कार्यक्रममा प्रशिक्षक विनयी त्रिवेणी गाउँपालिकाका कानुनी सल्लाहकार अधिवक्ता गणेश अधिकारीले मानव अधिकार संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।

 नेपालले हस्ताक्षर गरेका विभिन्न अन्तराष्ट्रिय महासन्धि तथा सन्धिहरूको बारेमा जानकारी गराउदै उहाँले महासन्धि तथा सन्धिहरूको कार्यान्वयन गर्दै मानव अधिकार प्राप्त गरेको अनुभूति आम नागरिकले गर्न पाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा इन्सेक नवलपुर प्रतिनिधि तिर्थराज डुम्रेले नागरिक तथा राजनितिक अधिकार र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको बारेमा सहजीकरण गर्दै नेपालको संविधान २०७२ मा मौलिक हकको रूपमा व्यवस्था गरिएका अधिकारहरूको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

उहाँले नवलपरासी पूर्व नवलपुरमा मानव अधिकार सवालहरू के के छन् भन्ने विषयमा सहभागीहरूसंग छलफल गर्नुभएको थियो ।

Photo20220328Nawalpur2

विनयी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष मिना कुमारी रानाले मानव अधिकारको विषयमा इन्सेकले गाउँपालिकामा निरन्तर पैरवी गरिरहेको भन्दै धन्यवाद प्रकट गर्नुभएको थियो ।

गाउँपालिका मार्फत बालबालिका, जेष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्ति, लक्षित समुदायहरूको लागि बजेट विनियोजन गरेर उनीहरूको अधिकार प्रत्याभूति गराउन निरन्तर सहयोग गरिरहेको उहाँले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बि.क.ले मानव अधिकारको विषय व्यापक र संवेदनशिल रहेको भन्दै समय र विकासक्रमसँगै यसको दायरा बढ्दै गएको बताउनुभयो ।

मानव मानवबिचको बिभेद, असमानता जस्ता सवालमा धेरै सुधारहरू भएको देखिएपनि अझै पनि मुलभूत रूपमा त्यसको निराकरण हुन नसकेको उहाँले बताउनुभयो ।

विनयी त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष विष्णु ढकालले संविधानले दिएको अधिकार प्रयोगसँगै नागरिकहरू आफ्नो दायित्वको बारेमा पनि सजक बन्न आवश्यक रहेको बताउनु भएको थियो ।

सबैको साँझा प्रयत्नबाट नै समाजमा विद्यामान बाल विवाह, छुवाछुत, महिला हिंसा, विभेदको अन्त्य हुन सक्ने भन्दै उहाँले स्थानीय सरकार सदैव अधिकारको प्रत्यायोजन गर्ने विषयमा गम्भीर रहेको बताउनुभएको थियो ।

इन्सेकद्वारा विनयी त्रिवेणी गाउँपालिकामा गठन गरिएको मानव अधिकार समूहका अध्यक्ष धर्मबहादुर जि.सी.ले गाउँपालिकामा मानव अधिकार समूह गठन भएर मानव अधिकार रक्षा र त्यसका सवालहरूमा पैरवी गरिरहेको भन्दै स्थानीय सरकारले मानव अधिकारसम्बन्धी अभिमुखिकरणको लागि सहयोग र इन्सेकले आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण इन्सेक नवलपुर सहजकर्ता गङ्गा विश्वकर्माले गर्नुभएको थियो ।

तिर्थराज डुम्रे