मानव अधिकारका सवालमा अदालत संवेदनशिल छः न्यायाधीश ढकाल
जिल्ला अदालत सुर्खेतका न्यायाधीश दीपक ढकालले मानव अधिकारका सवालमा अदालत संवेदनशिल रहेको बताउनुभएको छ । ०८१ पुस ६ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व जिल्लाको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले मानव अधिकार र अपराधमा फरक भएको भन्दै अभियुक्त व्यक्तिपछि निर्दाेष रहने भएकोले त्यसको क्षतिपूर्ति संलग्न व्यक्तिहरू मानव अधिकारको रक्षा गर्नका लागि नीति बनाउनुपर्ने बताउनु भयो । उहाँले नागरिकका अधिकार सुनिश्चित गर्न अदालतहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो । उहाँले न्याय प्रणाली नागरिकका आधारभूत अधिकारहरूको संरक्षणका लागि सधैँ तत्पर रहने बताउनु भयो । ‘मानव अधिकारका मुद्दामा अदालतले उच्चस्तरको संवेदनशीलता देखाउँदै आएको छ । यसमा कुनै सङ्का गर्न सकिँदैन' - उहाँले भन्नुभयो ।
उहाँले न्यायिक प्रक्रियामा पारदर्शिता र पहुँचलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । ‘न्यायिक प्रक्रियामा ढिलासुस्ती र अन्यायपूर्ण गतिविधिहरू न्यून गर्न हामीले नागरिकहरूसँग साझेदारीमा अघि बढ्नुपर्छ' - उहाँले थप्नुभयो । न्यायाधीश ढकालले देशका दुर्गम स्थानहरूमा न्याय सेवा पुर्याउन विशेष रणनीतिहरू अवलम्बन गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेशकुमार थापाले मानव अधिकारको सुरक्षित कसरी गर्ने, मानवलाई कसरी शक्ति सम्पन्न गराउने, भन्ने विषयसँग जोडिएको विषयमा इन्सेकले गरेको काम महत्त्वपूर्ण रहेको बताउनु भयो । उहाँले सर्वसाधारणलाई न्यायको पहुँचबाट वञ्चित गर्न नहुने भन्दै मानव अधिकधारको प्रत्याभूति गराउने राज्यको पहिलो जिम्मेवारी रहेको बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी भरत खनालले मानव अधिकारको सवालमा इन्सेक नेतृत्वदायी भूमिका निर्वाह गर्ने संस्था भएकोले जिल्लाका समग्र विषयहरू समेटिएको भए पनि प्रहरी र अदालतमा दर्ता नभएका घटनाहरू समेट्नुपर्ने बताउनु भयो । इन्सेकले अभिलेख गरे अनुसार महिला तथा बालबालिकाको हिसावले समस्याहरू यथार्थ भएको भन्दै यस्ता सवालहरू स्थानीय सरकारसँग जोडिएको विषयहरू भएकोले आगामी कार्यक्रममा स्थानीय सरकारलाई पनि बोलाउन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र वीर विकले इन्सेकले मानव अधिकारको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै मानव अधिकारका क्षेत्रमा काम गर्न निकै चुनौतीपूर्ण रहेको बताउनु भयो । डिएसपी विकले नेपाल प्रहरी मानव अधिकारको सवालमा संवेदनशिल भएको बताउँदै मानव अधिकारको सवालमा इन्सेकसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा मानव अधिकार रक्षक सञ्जालका संयोजक पीताम्बर ढकालले इन्सेकले मानव अधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेकोले दुर्गम गाउँ बस्तीका घटनाहरूमा समेत ध्यान दिन आग्रह गर्नुभयो । उहाँले पछिल्लो समयमा मानव अधिकारको सवालमा धेरै समस्या भएको र मानव अधिकार रक्षकहरूलाई पनि सुरक्षा र संरक्षण आवश्यक रहेको औँल्याउनुभयो ।
इन्सेक कर्णाली प्रदेश कार्यालय प्रमुख नारायण सुवेदीले प्रत्येक वर्ष कर्णालीमा मानव अधिकार र ज्यादतीका घटनाहरू बढिरहेको भन्दै त्यसको न्यूनीकरणका लागि सरकारले आवश्यक नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो ।
अधिवक्ता गिता कोइरालाले महिलाहरू विभिन्न समस्याहरूबाट पीडित भएको बताउँदै विवाह दर्ता, अंश र नागरिकताका सवालहरू अहिलेको अवस्थामा चुनौती रहेको बताउनु भयो । नेपाल पत्रकार महासङ्घ सुर्खेतका अध्यक्ष सुशील शर्माले स्थानीय सरकारले गरेका राम्रा कामका लागि पनि इन्सेकको वर्ष पुस्तकमा समेट्नुपर्ने सुझाव दिँदै मानव अधिकारको रक्षाका लागि तीनै तहका सरकार जिम्मेवार बन्नुपर्ने बताउनु भयो ।
गैरसरकारी संस्था महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम केसीले मानव अधिकारको विषयमा वहस पैरवी गर्न चुनौती थपिएको बेला इन्सेकले गरेको कामप्रति खुसी व्यक्त गर्नुभयो ।
मानव अधिकारका लागि महिला, एकल महिला समूह सुर्खेतका अध्यक्ष ममता नगालले सङ्क्रमणकालीन न्यायका विषयमा इनसेकसँग सहकार्य गरेर काम गरिरहेको बताउँदै घटना र सवाल केन्द्रीत बन्न इन्सेकलाई सुझाव दिनुभयो ।
अदालतले गरेको फैसला पीडितमैत्री भए पनि कार्यान्वयन हुन नसकेको कारण विवाह दर्ता सम्पत्ति नपाउनेको समस्याहरू भएकोले उनीहरूको नागरिकताको बनाउने विवाह दर्ता गराउने विषयमा पनि कसरी सपोर्ट गर्न सकिन्छ सो विषयमा पनि इन्सेकले सहजीकरण गर्नुपर्ने बताउनु भयो । उहाँले अहिले दुर्घटनाबाट धेरै जनाले ज्यान गुमाएकोले यस विषयमा पनि इन्सेकले अभिलेखीकरण गर्नुपर्ने बताउनु भयो ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व समीक्षा कार्यक्रममा इन्सेकले एक वर्षमा सङ्कलन गरेका ३ सय घटनाहरू सार्वजनिक गरेको थियो । इन्सेकले घटनाहरूमध्ये कुटपिटबाट नौ जना, बाल अधिकारको हनन्बाट ४२ जना, आर्थिक, सामाजिक साँस्कृति अधिकारबाट एक जना, अमानवीय व्यवहारबाट एक जना, घाइतेबाट दुई जना, हत्या ६ जना, जातीय विभेदबाट पाँच जना, धम्कीबाट एक जना, महिला अधिकारबाट वञ्चित २ सय ३७ गरी ३ सय ४ जना पीडित रहेका छन् । त्यस्तै बाल अधिकारका ४२ घटना मध्ये बाल विवाहबाट एक जना, बाल बेचबिखनबाट एक जना, विद्यालयमा हुने शारीरिक दण्ड सजायबाट दुई जना, बालिका बलात्कारमा ३७ जना र यौन दुर्व्यवहारबाट एक जना बालबालिका पीडित भएका छन् । महिला अधिकारका २ सय ३७ पीडितमध्ये घरेलु हिंसाबाट १ सय ९८ जना, बहुविवाहबाट १० जना, बलात्कारबाट २८ जना र धम्कीबाट १ जना महिला पीडित भएका छन् । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय, दलित समुदाय सम्बन्धी प्रहरी प्रशासनमा नआएका मुद्दामा इन्सेकले ध्यान दिनुपर्ने सहभागीहरूले सुझाव दिएका छन् । कार्यक्रममा कानुन व्यवसायी, मानव अधिकारकर्मी, पत्रकार र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
जगतदल जनाला विक
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…