मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणसम्बन्धी अन्तरक्रिया सम्पन्न

  ०७८ असोज ५ गते

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज ४ गते अमरगडीमा सम्पन्न भएको छ ।

कार्यक्रममा मानव अधिकार समुहका अध्यक्ष विष्णु भट्टले अधिकारकर्मीहरुलाई सुरक्षा र संरक्षण गर्ने दायीत्व सरकारको भएको भएपनि जिल्लामा अधिकारका क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरु अझै पनि असुरक्षित रहेकाले अधिकारर्मीहरुलाई सुरक्षित राख्नका लागि सरकारले सुरक्षा निकायहरुलाई माानव अधिकारमैत्री बनाउन आवश्यक रहेको बताउनु भयो ।

मानव अधिकारकर्मीको सुरक्षासम्बन्धी आदेश जारी हुनु सरकार मानव अधिकारप्रति जिम्मेवार छ भन्ने कुरालाई प्रष्ट्याएकोले मानव अधिकारकर्मीहरूको सुरक्षा र संरक्षण गर्ने सम्बन्धी आदेश ०७७ लाई ऐन नियमावलीको रुपमा लैजान सके अझै प्रभावकारी हुने जिल्ला बारका अध्यक्ष लालबहादुर जाग्रीले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि सुरक्षा निकाय तयार रहेको बताउँदै मानव अधिकार रक्षकहरू पहिचानसहित सूचिकृत हुन पर्नेमा जोड दिनु भयो ।

डिएसपी नोपलले कानुनले मात्र समाज परिर्वतन हुन नसक्ने भएकोले हरेक व्यक्तिको आचरणमा सुधार नल्याएसम्म असुरक्षित हुनु पर्ने अवस्था रहिरहने बताउनु भयो । प्रहरीले मानव अधिकार रक्षकहरूसँग समन्वय सहकार्य गर्दै आइरहेकाले उहाँहरुको सुरक्षा र संरक्षण पहिलो प्राथमिकतामा राखेको डिएसपी नेपालको भनाई छ ।

पीडितहरुको पक्षमा पैरवी तथा वकालत गर्दा सुरक्षा निकाय तथा अन्य जिम्मेवार निकायबाट गोप्य सूचनाहरु चुहावट हुँदा मानव अधिकारकर्मीहरु असुरक्षित हुने गरेकोले मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षण गर्ने सम्बन्धी आदेश २०७७ को प्रभावकारी कार्यान्वयन हुन पर्नेे  नेपाल पत्रकार महासंघ, डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंहले बताउनु भयो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुमा कमी नआएकोले मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणमा राज्य थप जिम्मेवार बन्नु पर्ने बताउनु भयो ।

photo20210921dadeldhura (2)

photo20210921dadeldhura (1)

भूपेन्द्र बिष्ट