मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणसम्बन्धी अन्तरक्रिया सम्पन्न

  ०७८ भदौ ३१ गते

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको सहयोग तथा जिल्ला मानव अधिकार सञ्जालको आयोजनामा मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम भदौ ३० गते मार्तडीमा सम्पन्न भएको छ ।

पीडितहरुको पक्षमा पैरवी तथा वकालत गर्दा सुरक्षा निकाय तथा अन्य जिम्मेवार निकायबाट गोप्य सूचनाहरु चुहावट हुँदा मानव अधिकारकर्मीहरु असुरक्षित हुने गरेको अधिकारकर्मी नन्दा थापाले बताउनु भयो ।

मानव अधिकारकर्मीहरुको सुरक्षा गर्नु प्रहरी प्रशासनको जिम्मेवारी भित्र पर्ने भएकोले प्रहरी प्रशासनले अधिकारकर्मीहरुको सुरक्षामा ध्यान दिन आवश्यक भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनु भयो ।

प्रहरी प्रशासनले सूचनाहरु गोप्य राख्न नसकेका कारण आफूहरु असुरक्षित भएको गुनासो अधिकारकर्मीहरुले गर्नु भएकोले यसतर्फ आफ्नो गम्भिर ध्यानकर्षण भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनु भयो ।

पीडितको पक्षमा वकालत गर्दा आरोपित पक्षबाट महिला अधिकारकर्मी र दलित अधिकारकर्मीहरुलाई मार्ने धक्की समेत आउने गरेकोले अधिकारको क्षेत्रमा क्रियाशिल अधिकारकर्मीहरुको पूर्ण सुरक्षाको सुनिश्चितता राज्यले गर्नु पर्ने महिला अधिकारकर्मी कल्पना साउदले बताउनु भयो ।

मानव अधिकारकर्मी तुलाराम जोशीले मानव अधिकारकर्मीहरुको जिल्ला सरकारी सुरक्षा समितिमा अभिलेखिकरण गरिनु पर्ने र नेपाल सरकार गृह मन्त्रालय कानुन महाशाखा मानव अधिकार प्रबद्र्धन शाखाको मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षण गर्ने सम्बन्धी आदेश २०७७ को प्रभावकारी कार्यान्वयन हुन पर्ने बताउनु भयो ।

महिला अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणका लागि सरकारले विषेश कानुन निर्माण गरी कार्यान्वयन गर्नु पर्ने महिला अधिकारकर्मी दुर्गा थापाले बताउनु भयो ।

मानव अधिकारकर्मीहरुले आचारसहिंताको पालना गर्नु पर्ने र अधिकारकर्मीहरुको कार्यसम्पादन प्रभावकारी बनाउन राज्यबाट आर्थिक कोष स्थापना गर्नु पर्ने, अधिकारकर्मीहरुको सुरक्षाको सुनिश्चितता राज्यले गर्नु पर्ने र मानव अधिकारकर्मीको सुरक्षा र संरक्षणका लागि गृहमन्त्रालयले जारी गरेको आदेश पूर्ण रुपमा कार्यान्वयन गरिनु पर्नेलगायतका सुझावहरु कार्यक्रमका सहभागिहरुले दिनु भएको थियो ।

photo20210916bajura (2)

photo20210916bajura (1)

पदमबहादुर सिंह