मानव अधिकार सन्धी अनुगमन समन्वय समिति लगायतका संस्थाहरुसँगको बैठक सम्पन्न

  ०८१ जेठ ३० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा मानव अधिकार सन्धी समन्वय केन्द्र लगायतका संस्थाहरुसँगको बैठक जेठ २९ गते सम्पन्न भएको छ ।

बैठकमा प्रदेशमा मानव अधिकारको तीन महिनाको अवस्थाको बारेमा छलफल गरिएको थियो । जनवरी २०२४ देखि हालसम्म भएका घटनाहरु, मानव अधिकारको अवस्था तथा मानव अधिकार उल्लंघनका घटना न्यूनीकरण र पीडितलाई न्याय कसरी दिलाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।

इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले गण्डकी प्रदेशमा महिला तथा बालबालिका माथिको हिंसा दिन प्रतिदिन बढ्दै गइरहेको बताउनुभयो । साथै उहाँले इन्सेकले विभिन्न समयमा कारागार तथा बाल सुधार गृहको अनुगमन गर्दै आएको र देखापरेका समस्याहरुको समाधान गर्न पहल गरिराखेको बताउनुभयो ।

इन्सेकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुको सवालमा पनि वकालत गर्नुका साथै वातावरणमा परेको असरको बारेमा पनि आवाज उठान गरेको बताउनुभयो ।

गैर सरकारी संस्था महासंघका गण्डकी प्रदेशका अध्यक्ष गोपाल खड्काले मानव अधिकार व्यवस्थापनको लागि सबै मानव अधिकारका संस्थाहरुले पहल गर्नुपर्ने बताउनुभयो ।

गैर सरहकारी सस्था महासंघ कास्कीका अध्यक्ष डा. बुद्धि थापाले राज्यले महिला तथा बालबालिकाका क्षेत्रमा छुट्टै संयन्त्र बनाएर काम गर्नुपर्ने बताउनुभयो । साथै उहाँले महिला, बालबालिका तथा युवाको मुद्दामा अग्रसर भएर आवाज उठाउनु पर्ने बताउनुभयो ।

मुक्ति समाजका केन्द्रीय सचिव धनबहादुर नेपालीले मानव अधिकारको सवालमा नीति नियम राम्रो बनाउन नसकिएको र भएका नीति नियमलाई पनि उचित तरिकाले कार्यान्वयन तथा अनुगमन गर्न नसकिएको बताउनुभयो । उहाँले भएका संरचनाहरुले आ आफ्नो तवरबाट उचित काम गर्न नसकेका कारण मानव अधिकारको अवस्था अझै पनि यस्तो रहेको बताउनुभयो ।

कोपिला नेपालकी संयोजक बिना सिलवालले मानव अधिकारको सवालमा संघ संस्थाहरुले आ आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले महिला तथा बालबालिकाको मानसिक स्वास्थ्यको लागि हरेका अस्पतालहरुमा मनोपरामर्शको व्यवस्था हुनुपर्ने बताउनुभयो ।

नागरिक मञ्चका संयोजक विष्णु बरालले स्थानीय तहलाई जिम्मेवार बनाउन नसक्दा समस्या बढ्दै गइरहेको बताउनुभयो ।

Photo20240612Kaski Photo20240612Kaski-01

इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा ।