मादक र सुर्तीजन्य पदार्थको सेवन तथा विक्री वितरणलाई निषेध गर्ने प्रतिबद्धता

जिल्ला शिक्षा कार्यालय सुर्खेतका निमित्त प्रमुख भोजराज लम्सालले विद्यालय भन्दा बाहिरको निश्चित सिमाक्षेत्रभित्र मदिरा र सुर्तीजन्य पदार्थको सेवन तथा विक्री वितरणलाई निषेध गर्ने प्रतिबद्धता जनाएका छन् ।

इन्सेकद्वारा गठित साविक मालारानी गाविस तथा गुर्भाकोट नपा १ र २ वडा स्तरीय मानव अधिकार निगरानी समूहको अगुवाइमा असार ९ गते बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै निमित्त प्रमुख लम्सालले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

निमित्त प्रमुख लम्सालले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि मालारानीलगायतका जिल्लाका सबै विद्यालयहरूका विषयगत र कक्षागत शिक्षकहरूले समयानुकूलको वार्षिक कार्ययोजना निर्माण गरेर मात्र अध्यापन गराउन तत्काल निर्देशन दिने, विद्यालयमा शिक्षकहरूको नियमित उपस्थिति, पुरा समय शिक्षण कार्य गरे/नगरेको र विद्यालय पोशाकमा अनिवार्य रहे/नरहेको बारेमा प्रभावकारी अनुगमन गरिने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै विद्यालय व्यवस्थान समिति गठन हुन नसकेका विद्यालयहरूमा तत्काल विव्यस गठन, नियमितरूपमा विभिन्न अतिरिक्त क्रियाकलाप गर्न र प्रयोगविहीन अवस्थामा रहेका शौचालयहरूलाई समुचित व्यवस्थापन गरी प्रयोगमा ल्याउनका लागि आवश्यक निर्देशन दिने पनि निमित्त प्रमुख लम्सालले बताए ।

मालारानी लगायतका जिल्लाका सबै सामुदायिक विद्यालयहरूको आवश्यकता अनुसार भौतिक संरचना निर्माणको लागि आवश्यक बजेट उपलब्ध गराइनुपर्नेलगायतका १० बुँदे माग सहितको ज्ञापनपत्र बुझाइएको कार्यक्रममा गुर्भाकोट नपा-२ का नवनिर्वाचित वडाध्यक्ष नोखबहादुर वली, मानव अधिकार निगरानी समूह मालारानीका अध्यक्ष निर्देश वली, सदस्य निर्मला वली, जनज्ञान भण्डार मावि मालारानीका विव्यस अध्यक्ष कृष्णबहादुर खत्री, शिक्षक ध्रुवकुमार अधिकारी, स्थानीय समाजसेवी गणेश ढकाल र दुर्गालाल वलीको उपस्थिति रहेको थियो ।

दुर्गा थापा