मन्त्री अग्रवालद्वारा 'मानव अधिकार सूचना तथा स्रोत केन्द्र' को अनुगमन

  ०८१ पुस ४ गते

लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले जानकी गाउँपालिका–३ मा निर्माण गरेको 'मानव अधिकार सूचना तथा स्रोत केन्द्र' भवनको ०८१ पुस ४ गते अनुगमन गर्नुभएको छ ।

Photo19122024Banke.

मानव अधिकार सूचना तथा स्रोत केन्द्र भवनको अनुगमन गर्दै कानुन मन्त्री अग्रवालले मानव अधिकारको संवर्द्धन, संरक्षण र परिपूर्ति गर्न आफूहरू लागि परेको बताउनु भयो । उहाँले मानव अधिकार सूचना तथा स्रोत केन्द्रलाई प्रभावकारी बनाउन थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले इन्सेकले मानव अधिकारको प्रवर्द्धन र संरक्षणका लागि काम गरिरहेका व्यक्ति र संस्थाहरूलाई सहयोग र स्रोतहरू उपलब्ध गराउने उद्देश्यले मानव अधिकार सूचना तथा स्रोत केन्द्रको निर्माण गरिएको मन्त्री अग्रवाललाई जानकारी गराउनु भयो । उहाँले मानव अधिकार सूचना तथा स्रोत केन्द्र मानव अधिकार रक्षकका लागि अनलाइन प्लेटफर्मका साथै अनुसन्धान गर्न, प्रशिक्षण सामग्री प्राप्त गर्न, केस स्टडी र अन्य सान्दर्भिक जानकारीहरू प्राप्त गर्न उपयोगी हुने उल्लेख गर्नुभयो ।

त्यस्तै संयोजक महतले मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्यायोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेकोले यसको प्रभावकारिताका लागि लुम्बिनी प्रदेश सरकारले काम गर्न आवश्यक भएको बताउनु भयो ।

मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको प्रक्रियामा रहेको र मानव अधिकारको संरक्षण र संवर्द्धन गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री अग्रवालको भनाइ छ । उक्त अनुगमनको क्रममा मानव अधिकार पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन, मानव अधिकार विश्वव्यापी घोषणा पत्र अनुरुप, संवैधानिक तथा नीतिगत व्यवस्था, कार्ययोजनाको उद्देश्य, तहगत सरकारले गर्नु पर्ने काम कर्तब्य र गठन प्रक्रियाको बारेमा समेत छलफल भएको थियो ।

Photo19122024Banke,

ध्रुबराज शर्मा