भूकम्प पीडितद्वारा घर निर्माणका लागि काठ उपलब्ध गराउन माग

भूकम्पले भत्किएको घर निर्माणको लागि सालको काठ उपलब्ध गराउन बेलकोटगढी नपा-२ का भूकम्प पीडितहरूले माग गरेका छन् ।

Photo20170824Nuwakot

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा र जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रको सहयोगमा भदौ ६ गते कुमरीमाआयोजित भूकम्पपछिको पुनर्निर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीहरूले घर बनाउनको लागि गाउँमा काठको अभाव भएकोले काठ उपलब्ध गराउन सरकारी निकायसँग माग गरेका हुन् ।

सालको काठ नहुँदा अन्य काठको प्रयोग गर्न भूकम्पपीडित बाध्य भएको कुमरी गाविसका पूर्व अध्यक्ष लक्ष्मण न्यौपानेले बताए । 'यहाँको वनमा सालको काठ नै पाइँदैन । घर बनाउन सालको काठ सरकारले उपलब्ध गराउने भन्ने सुनेका थियौँ । तर, कहाँ र कसरी पाइने हो थाह पाइएन ?'-उनले भने ।

Photo20170824Nuwakot1

स्थानीय आत्मराम न्यौपानेले लाभग्राहीको सूचीमा परेकाहरूको अनुदान लिन विदुर धाउन नपर्ने बनाइदिन आग्रह गरेका छन् । 'कुमरीबाट विदुर पुगेर पैसा ल्याउन तीन दिन लाग्छ । त्यसैले अब रकम दिँदा नजिकैको छिमेकी जिल्ला धादिङको धार्केबाट दिन मिल्ने बनाउनु पर्छ'-उनले भने ।

कार्यक्रममा सहभागीहरूले सरकारले पठाएको इञ्जिनियर गाउँमा नबस्दा समस्या भएको बताए । गाउँमा भूकम्पले घर भत्काएपछि सरकारले घर बनाउने नियम बेलैमा नल्याउदा १ सय हाराहारी घरको पिल्लरको साइज सरकारले तोकेको भन्दा सानो भएकाले अनुदान नपाएको भन्दै त्यस्ता घरको लागि अनुदान आउने व्यवस्था मिलाउन पनि माग गरिएको छ ।

बेलकोटगढी नपा-२ का वडा अध्यक्ष रमेश न्यौपानेले भूकम्पपछिको साविकको गाविसको अवस्था बारे जानकारी दिए । कुमरीमा १ हजार ८ सय ८१ जनाको नाम लाभग्राहीको सूचीमा परेकोमा १ हजार ८ सय ३० जनासँग अनुदान सम्झौता भइ रकम लगिसकेका छन् भने अहिले दोस्रो किस्ता ३ सय १७ जनाले लगेको न्यौपानेले बताए ।

साविकको कुमरी गाविसबाट २ सय ८५ गुनासो दर्ता भएकोमा १ सय ४१ को सम्बोधन भएको र बाँकी गुनासोको पुनःसर्वेक्षण भइरहेको उनको भनाई छ ।

नवदीप श्रेष्ठ