भूकम्प पीडितको गुनासो- 'हामीले कहिले पाउने अनुदान ?'

  ०७४ भदौ ९ गते 

भक्तपुरका भूकम्प पीडितले अझैसम्म पनि अनुदान नपाएको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले भेलुखेलमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्प पीडितहरूले भवन निर्माण अन्तर्गतको पहिलो किस्ता अनुदान र राहत रकम अहिलेसम्म पनि नपाएको गुनासो गरेका हुन् ।

भूकम्पले घर भत्किएर बस्ने ठाउँ नभएको र अहिलेसम्म भाडामा बस्न बाध्य भएको भक्तपुर-५ की आशा दउलाले बताइन् । धेरै पहल गर्दा पनि केही नभएको र लालपुर्जा पनि नभएकोले  समस्या भएको र वास्तविक भूकम्प पीडित भएपनि सरकारले दिने अनुदान र सरकारले दिएको राहत अहिलेसम्म पाउन नसकेको उनको गुनासो छ ।

सरकारले पहिलो किस्ताको अनुदान रकम वितरण गरेपनि त्यो रकमले घर बनाउन नपुग्ने दिनेश देउलाले बताउनुभयो ।

कार्यक्रममा भक्तपुर-५ की देवी देउजा राईले भूकम्प पीडितले अनुदान रकम पाउनबाट छुट्न नहुने बताउँदै सरकारले यसतर्फध्यान दिनुपर्ने र जनप्रतिनिधिको भूमिका पनि महत्वपूर्ण हुनुपर्ने बताइन् ।

कार्यक्रममा भूकम्प पीडितले सरकारले छिटो र सहज ढङ्गले थप अनुदान दिन तथा नाम छुटेकाहरूलाई प्रक्रिया पुर्‍याएर रकम वितरण गर्न माग राखेका थिए । वास्तविक पीडित चिनेर मात्र अनुदान वितरण गर्नुपर्ने पीडितको माग छ ।

मानव अधिकार संञ्जाल भक्तपुरका उप संयोजक रमेश गिरीले भुकम्प पीडितको गुनासो र समस्या धेरै रहेकाले उनीहरूको गुनासो सम्बोधनमा राज्यले छिटो प्रक्रिया अगाडि बढाउनु पर्नेमा जोड दिए ।

.

.

.

.

.

.

सविना केसी