भूकम्पपीडितको मागः निर्माण सामग्री सहज रूपमा पाउँ

भूकम्पपछिको निजी आवास निर्माणले गति लिन नसक्नुमा सहज रूपमा निर्माण सामग्री उपलब्ध नहुनु नै रहेको भूकम्प पीडितहरूले बताएका छन् । पुस ५ गते विदुर नगरपालिका-१२ साविकको चारघरे गाविसमा इन्सेकको आयोजनामा भएको 'भूकम्पपछिको पुनर्निर्माणको सवाल' विषयक सार्वजनिक सुनुवाइमा सहभागीहरूले घर बनाउनको लागि बालुवा र गिटीको सहज आपूर्ति गर्न नपाउँदा समस्या भएको बताए ।

Photo20171221Nuwakot

जिल्ला समन्वय समितिले जिल्लामा खानीहरूबाट बालुवा झिक्न प्रतिबन्ध लगाएको कारण किन्न नपाउँदा घर बनाउन नपाएको स्थानीयवासी तथा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य समेत रहेका बद्रीप्रसाद भट्टले बताए ।

'घर बना भन्ने बालुवा किन्न नपाइने? कसरी बनाउने घर ?'-उनले भने-'बालुवा र गिटीको मूल्य समेत समायोजन गर्नु पर्छ । पाइए पनि भूकम्प अघिको भन्दा दोब्बर मूल्य बढेकोले हामी मारमा परेका छौँ ।'

गाउँमा भूकम्पले भत्किएका घरहरूको निर्माणको लागि इञ्जिनियर समेत नआउँदा समस्या भएको उनीहरूको गुनासो रहेको छ । इञ्जिनियरहरू मोटरसाइकल भएकाहरू लिन जाँदा आउने तर, मोटरसाइकल नभएकाहरूले बोलाउँदा हिडेर आउन सक्दैनौँ भन्ने जबाफ दिने गरेको अर्का भूकम्प पीडित रामशरण भट्टले बताए ।

घर बनाउनको लागि काठको समस्या रहेको, कामदारको अभाव रहेको कारणहरूले ढिलाई भइरहेको पीडितहरूले ग’नासो गरेका छन् । कार्यक्रममा विदर नगरपालिका-१२ का वडा अध्यक्ष सीताराम अर्यालले कार्यक्रममा उठेका गुनासाहरूको जबाफ दिएका थिए ।

Photo20171221Nuwakot1

उनले जिल्ला आयोजना कार्यन्वयन इकाईले पहिले चारजना इञ्जिनियर पठाएकोमा पछि दुई जनालाई अन्यत्र सरूवा गरेको कारण घर बनाउने बेलामा इञ्जिनियर कम भएको बताए । उनले बालुवा गिटीको सहज उपलब्धताको लागि नगरपालिकामार्फत जिल्ला समन्वय समितिमा कुरा गरिएकोले छिटै सहज हुने बताए ।

यस वडामा भूकम्पको कारण चार जनाले ज्यान गुमाएका थिए । १ हजार २ सय ८४ घर लाभग्राही सूचीमा परेको थियो भने ६५ घर छुटेकोले गुनासो दर्ता गरिएको र वडा कार्यालयले विवरण पुनः पठाएको छ । अहिलेसम्म ५ सय घरको पुनर्निर्माण भइसकेको वडा अध्यक्ष अर्यालले जानकारी दिए ।

नवदीप श्रेष्ठ