भूकम्पपीडितको अवस्था विषयमा सार्वजनिक सुनुवाइ

  ०७४ भदौ २४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित मानव अधिकारमैत्री वातावरणका लागि उत्तरदायित्व प्रवर्धन कार्यक्रम अन्तर्गत भदौ २४ गते पनौती नपा-१ रयालेमा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ ।

भूकम्पपीडितको अवस्था र पुनःनिर्माण विषयमा भएको सार्वजनिक सुनुवाइमा पीडितहरूले भूकम्पपछिको अवस्थाका विषयमा जानकारी गराएका थिए ।

सार्वजनिक सुनुवाइमा सहभागीहरूले आफ्नै ढङ्गबाट बनाएका घरहरूलाई मान्यता दिनुपर्ने, सहुलियत ऋण सहज बनाउनुपर्ने, पुनःनिर्माणको समयसिमा बढाउनुपर्ने र पुनःनिमार्णमा मजदुरहरू कम भएकाले नेपाली सेनाका प्राविधिक जनशक्ति परिचालन गर्नुपर्ने लगायतका सवालहरू उठाएका थिए ।

यस वडामा १ हजार १ सय २६ जनाले सुरुको १५ हजार प्राप्त गरेका थिए । १० हजार प्राप्त गर्ने समयमा १ हजार ८९ जनाले लिएका थिए । यहाँ केही सामाजिक संस्थाहरूले १ सय ५० नमूना घर बनाइदिएका छन् । पहिलो किस्ता लिनेको सङ्ख्या धेरै कम देखिएपनि दोस्रो किस्ताका लागि ७६ जनाले मात्र फाराम भरेका छन् ।

राहातका लागि धेरै झञ्झट व्यहोर्नुपरेको भूकम्प पीडितहरूको गुनासो छ । खानेपानी, पहिरो, घर बनाउने काठ, बाटो र जमिन चर्किएको विषयलाई यहाँका सर्वसाधारणले चासोका रूपमा लिएका छन् । वडा कार्यालयमा कतिपय पीडितहरू हामीलाई 'बरू राहात चाहिन्न, पीडित भनेर कार्ड बनाइदिए पुग्छ' भनेर आउने गरेको वडा कार्यालयका कर्मचारी बताउँछन् ।

भोजराज तिमल्सिना