भूकम्पपीडितका सवालमा सार्वजनिक सुनुवाइ सम्पन्न

भूकम्प पीडितका लागि राहत तथा पुनर्निर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम पुस १४ गते ललितपुर महानगरपालिका-१९ स्थित अग्नीशालामा सम्पन्न भएको छ ।

Photo20171230Lalitpur

सार्वजनिक सुनुवाइमा भूकम्पपछि पीडितको अवस्था, राज्य पक्षबाट पाएको राहत तथा सहयोग बारे छलफल भएको थियो ।

कार्यक्रममा भूकम्पपीडितहरूले आफूले पाएको आर्थिक सहयोग सन्तोषजनक नभएको गुनासो गरे । स्थानीय गिता बज्रचार्यका अनुसार दुई प्रतिशतमा व्याजमा ऋणको कुरै हराइसकेको छ । त्यस्तो ऋण उपलब्ध गराइदिए भूकम्प पीडितलाई सहज हुने उनको भनाई छ ।

Photo20171230Lalitpur1

त्यसैगरी स्थानीयवासी रोशनी कर्माचार्यले भूकम्पपछि तीन ओटा परिवार भएको घरमा एक जनाको मात्र लालपुर्जा हुने भएकाले घर निर्माण सम्झौता गर्न समस्या पारेको, आफूहरू रातदिन राहातका लागि लागिपर्दा पनि उचित किसिमको राहत नपाएको बताइन् ।

ललितपुर महानगरपालिका-१९ का वडा अध्यक्ष विनोद ताम्राकारले आगामी दिनमा भूकम्प पीडितहरूका लागि थप सहयोगका कार्यक्रमहरू ल्याउन पहल गर्ने बताए । जुनसुकै हालतमा भएपनि राहत पाउन छुट भएकाहरूलाई राहत उपलब्ध गराउने उनको प्रतिबद्धता छ ।

इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँका संयोजक कृष्ण गौतमले एक घर एक परिवारले राहत पाउनु पर्ने उल्लेख गर्दै राहातका लागि सहजीकरण गर्ने काम इन्सेकको समेत रहेको बताए । कानुन निमार्णमा भएको ढिलाइका कारण पनि यस्ता समस्याहरू उत्पन्न भएको उनको भनाई छ ।

केशव भट्ट