भूकम्पपछिको पूनर्निर्माणको विषयमा सार्वजनिक सुनुवाइ

  ०७४ जेठ २८ गते

भूकम्प पछिको पूनर्निर्माणको अवस्थाको बारेमा मन्थली नगरपालिका-७ भटौलीमा सार्वजनिक सुनुवाइ कार्यक्रम जेठ २८ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सामाजिक जबाफदेहिता नेटवर्क (सान) नेपालको संयुक्त आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको हो ।

Photo20170611Ramechhap

स्थानीय जनप्रतिनिधि र सेवाग्राहीबिच भएको सो सार्वजनिक सुनुवाइ कार्यक्रममा मन्थली नगरपालिका-७ का वडा अध्यक्ष सुदर्शन प्रसाईँले वडा नम्बर ७ मा हालसम्म ८ सय ८२ घरधुरीले घर निर्माणको लागि सम्झौता गरेको जानकारी दिए ।

वडामा ९ सय २१ घरधुरी लाभग्राहीको सूचीमा रहेको पनि उनले बताए । यसैगरी १ सय ७३ जनाले आफू लाभग्राहीको सूचिमा नपरेको भनि गुनासो गरेकामा त्यसलाई सम्बोधन गराउनको लागि आफूहरू लागि परेको उनले बताए ।

कार्यक्रममा मन्थली नगर कार्यपालिका सदस्य श्रीबहादुर माझीले कतिपयको ऐलानी जग्गामा घर भएको कारण घर बनाएर पनि सरकारले दिने सुविधा लिनबाट वञ्चित भएको बताए । सरकारको मापदण्ड बेलाबेलामा परिवर्तन हुने गरेकोले पनि सेवाग्राही अझै 'पर्ख र हेर'को अवस्थामा रहेको उनको भनाइ थियो ।

मन्थली नगर कार्यपालिकाका अर्का सदस्य निर्माण माझीले भौगोलिक विकटता, पानीको समस्या, अव्यवहारिक नक्सालागायतको समस्याका कारण घर निर्माणले गति लिन नसकेको बताए ।

कार्यक्रमका सहभागी स्थानीयले घर बनाईसक्दा पनि अनुदानको रकम नपाएको, घर भत्किएकाहरू समेत लाभग्राहीको सूचीमा नपरेको, जग्गालगायतका समस्यालाई सम्बोधन गर्नका लागि जनप्रतिनिधिहरूलाई आग्रह गरेका थिए । उनीहरूले प्राविधिक गाउँमा नबस्दा समस्या थप जटिल भएको पनि आरोप लगाएका छन् ।

सार्वजनिक सुनुवाइमा आगामी असार मसान्तभित्र वडा कार्यालयमा इञ्जिनियरको व्यवस्था गर्ने र गुनासो सम्बोधनको लागि छिटोभन्दा छिटो पहल गर्ने दुई बुँदे प्रतिबद्धता जाहेर भएको छ ।

नवराज पथिक