भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न

  ०७६ असार १३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा आज भीमेश्वर नगरपालिका वडा नं. २ मा भुकम्प पछिको पुननिर्माणको अवस्था वारे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा भीमेश्वर नगरपालिका–२ का अध्यक्ष विराजमान श्रेष्ठ र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाई (आवास) का इन्जिनियर भोगेन्द्रकुमार शाहले निजी आवास निर्माणमा भएको प्रगति तथा आएका समस्याका बारेमा लाभग्राहीका सवालहरूको जबाफ दिए ।

कार्यक्रममा शिवजी प्रधानले निजी आवास निर्माणमा बहुस्वामित्वका घर बनाउन हालसम्म कार्यविधि बन्न नसक्नु दुःखको कुरा भएको भन्दै भूकम्प प्रभावितले आवास निर्माण गर्ने पाँच वर्षे अवधि कम भएको गुनासो गरे । उनले सम्पदा वस्ती र बहुस्वामित्वका आवास निर्माण कार्यविधि कहिलेसम्म बन्छ भनी प्रश्न गरे ।

स्थानीय नवराज श्रेष्ठले पक्की घर हुनेको भूकम्प पीडित लाभग्राहीमा नाम समावेश भएको तर एउटा छाप्रोको घर हुनेको हालसम्म नाम छुटेकोमा वास्तविक पीडित हाल पनि जस्ताको छाप्रोमा बस्न बाध्य भएको बताए ।

वडा नं. २ मा १ हजार १ सय १६ लाभग्राहीको नाम आएकोमा हालसम्म २ सय १६ परिवार सम्झौता गर्न नआएको भन्दै पुनर्निर्माण प्राधिकरण, निर्देशक समितिको आगामी बैठकले बहुस्वामित्वका निजी आवास निर्माण र सम्पदा पुननिर्माणको कार्यविधिको निर्णय हुने प्राधिकरणका इन्जिनियर भोगेन्द्रकुमार शाहले बताए ।

इन्जिनियर शाहले भूकम्प प्रभावित लाभग्राहीको सूचीबाट वास्तविक लाभग्राही छुट्नु दुःखको कुरा भन्दै आवश्यक कागजात सहित स्थानीय सरकारको ध्यानाकृष्ट गराउनु पर्ने बताए ।

वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठले तत्कालको सर्वदलिय संयन्त्रलाई बेवास्ता गर्दा वास्तविक पीडित लाभग्राहीबाट छुटेको बताए ।

photo20190628dolakha (1)

photo20190628dolakha (2)
उद्धव पोखरेल