भानु नगरपालिकामा समस्या पहिचान एवम् कार्ययोजना निर्माण सम्पन्न

  ०७८ भदौ १८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा भानु नगरपालिकामा गठन गरिएको मानव अधिकार समूहको आयोजनामा समस्या तथा सरोकारवालाको पहिचान तथा कार्ययोजना निर्माण बैठक ०७८ भदौ १७ गते भानु नगरपालिका१ भन्सारमा सम्पन्न भएको छ  ।

मानव अधिकार समुहका संयोजक कृष्णराज धमनीयाको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा मानव अधिकार समूहले सो नगरपालिकाको शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी विभिन्न समस्याहरु पहिचान गरेको छ । बैठकमा पहिचान भएका समस्याहरु समाधानकोलागि सेवा प्रदायकहरुलाई ध्यानाकर्षण गराउने निर्णय समेत बैठकले गरेको छ ।

बैठकले पहिचान गरेका शिक्षासम्बन्धी मुख्य समस्यामा कोभिड१९ को कारण हाल विद्यालयहरु बन्द हुँदा विद्यार्थीको शिक्षण सिकाइ प्रभावित भएको, सामुदायिक विद्यालयमा दरबन्दी अनुसारको शिक्षक नभएको, निमावि तथा मावि तह सञ्चालन भएपनि प्राविको दरबन्दीका शिक्षकले अध्यापन गराउनुपर्ने बाध्यता रहेको, सामुदायिक विद्यालयमा लगानीको अनुपातमा उपलब्धि कम हुने गरेको, भुकम्पबाट क्षती भएको विद्यालयको अझै पनि पुनःनिर्माण पुरा नभएको, गरिबीको कारण बालबालिका विद्यालयमा नियमितरुपमा आउन नसकेको, विद्यालयमा स्वच्छ खानेपानीको अभाव रहेको, बालविवाहको कारण विद्यालय छाड्ने दर बढी भएको लगायतका रहेका छन् ।

photo20210903Tanahun

त्यसैगरी स्वास्थ्यसम्बन्धी समस्याहरुमा मुख्य रुपमा कोभिड१९ को समस्या प्रमुख रहेको छ । कोभिडको त्रासको कारण स्वास्थ्य संस्थामा उपचार गर्न पनि समस्या परिरहेको, स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा औषधि नभएको, स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने सेवाको बारेमा सबै नागरिकले जानकारी नपाएको, बालबालिकामा कुपोषणसम्बन्धी समस्या रहेको, बर्थिङ सेण्टर स्थापना भएपनि सुत्केरी गराउन नआएको, स्वास्थ्य चौकीको भवन सुविधा सम्पन्न भएपनि सेवाग्राहीको पहुँचमा नभएको, कति प्रकारको औषधि निःशुल्क पाइन्छ भन्ने बारेमा नागरिकलाई जानकारी नभएको, महिलाहरुको अत्यावश्यक आइरन चक्कीको अभाव रहेको जस्ता समस्याहरु छन् ।

त्यस्तै खाद्यसम्बन्धी समस्याहरुमा बजारमा खुल्लारुपमा गुणस्तरहिन खाद्य पदार्थ विक्री वितरण भइरहेको, बजार अनुगमन नभएको, व्यवसायिक तरकारी खेतीप्रति कृषकहरु खासै आकर्षित नभएको, विदेश जानलाई बैंकबाट ऋण पाइने तर कृषि र पशुपालनकोलागि ऋण उपलब्ध नहुने, सिचाईको व्यवस्था नभएको, जग्गा प्लटिङले खेतीयोग्य जग्गाहरु नष्ट भएको, कृषकहरुलाई आधुनिक कृषिको बारेमा तालिमको अभाव रहेको, अर्गानिक खेती र उत्पादनमा जोड नदिइएको, एक जना कृषि तथा पशु प्राविधिकले दुई/तीन ओटा वडामा सेवा दिनु पर्दा सेवा प्रवाह प्रभावकारी नभएको, कृषि अनुदानको बारेमा कृषकहरु जानकार नभएको, अनुदानबाट आउने लाभ भन्दा अनुदान लिन जाने खर्च बढी हने हुँदा कृषकहरु अनुदान प्रति आकर्षित नभएको, माटोको उर्वराशक्तिको बारेमा माटो परीक्षण नभएको जस्ता समस्याहरु पहिचान भएका छन् ।

बैठकमा समूहका संयोजक कृष्णराज धमनीयाले पहिचान भएका समस्याहरुको बारेमा स्थानीय तह, सम्बन्धित इकाइ र वडा कार्यालयहरुमा ध्यानाकर्षण गराइ समाधानकोलागि पहल गरिने बताउनुभयो ।

समूहका सदस्य रामबहादुर ढकालले विद्यालय बन्द हुँदा बालबालिकाको भविष्य अन्धकार भएको बताउनु भयो ।

सदस्य रुक्मिणी खनाल र विष्णुकुमारी श्रेष्ठले स्वास्थ्य क्षेत्रमा धेरै बेथिती रहेको र स्वास्थ्यकर्मीहरु समयमा कार्यालय नआउने र पुरा समयसम्म नबस्ने बताउनुभयो । सो बैठकमा इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले मानव अधिकार समूहले पहिचान गरेका समस्याहरुलाई विभिन्न कार्यक्रम मार्फत नगरपालिकाको ध्यानाकर्षण गराउने र ती समस्या समाधानकोलागि पहल गरिने बताउनुभयो ।

प्रकाशचन्द्र भट्टराई