भक्तपुरका पत्रकारद्वारा सुरक्षाको चिन्ता

  ०७४ असार १३ गते

भक्तपुरका क्रियाशील पत्रकारहरूले निष्पक्ष रूपमा गरिने समाचार सङ्कलनका क्रममा सुरक्षा चुनौती थपिँदै आएपछि सुरक्षाको माग गरेका छन् ।

Photo20170627Bhaktapur

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय, काठमाडौँ, नेपाल पत्रकार महासङ्घ भक्तपुर र क्रियाशील पत्रकार मञ्च भक्तपुरले असार १३ गते आयोजना गरेको "पत्रकार र सुरक्षा" विषयक मिडिया साझेदारी बैठकमा सहभागी पत्रकारहरूले सुरक्षाको माग गरेका हुन् ।

उनीहरूले द्वन्द्वकालमा जस्तै अहिले पनि निष्पक्ष रूपमा समाचार सङ्कलन र सम्प्रेषणका क्रममा विरोधी पक्षद्वारा जागिर खोसिदिने, कुटपिट गर्नेदेखि ज्यान मार्ने र गाउँ निकाला गर्नेसम्मको धम्की आएको भन्दै सुरक्षाको माग गरेका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकीले पैसा र बलको आडमा पत्रकारलाई धम्क्याउने प्रवृत्ति बढेको बताउँदै सुरक्षित भएर पत्रकारिता गर्ने वातावरण सृजना हुनुपर्नेमा जोड दिए ।

क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले पत्रकार माथि हातपात हुने र धम्की आउने कार्यको जानकारी गराएपछि सम्बन्धित सञ्चार गृह, नेपाल पत्रकार महासङ्घ, प्रशासन र सरकारले सञ्चारकर्मीको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

प्रेस चौतारी भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई)ले पत्रकार माथि हुने आक्रमण र धम्कीलाई पत्रकार महासङ्घले लुकाएर राख्न नहुने बताउँदै आरोपितलाई कारबाही गराउनेसम्मको पहलकदमी लिनुपर्ने बताए ।

कार्यक्रममा लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष पेशल आचार्यले पत्रकार माथि भएको आक्रमण र धम्कीका बारेमा जानकारी गराउँदा पनि प्रहरी, प्रशासनले जिम्मेवारी बहन नगर्दा दण्डहीनता बढेको बताए ।

इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँका प्रलेख अधिकृत राजु पासवानले समाचार लेखेकै भरमा पत्रकार माथि हुने हातपात र धम्कीका विरूद्ध लाग्न र उनीहरूलाई कारबाही गर्न बाध्य पार्न प्रहरी प्रशासनलाई दबाव दिने कार्यका लागि पत्रकारहरू एकजुट हुनुपर्नेमा जोड दिए ।

सविना केसी