बेलकोटमा सार्वजनिक सुनुवाइ सम्पन्न

बेलकोटगढी नपा-११ का बासिन्दाहरूले निर्माण सामग्रीको महङ्गीले गर्दा भूकम्पपछिको पुनर्निर्माणमा समस्या भएको बताएका छन् । बेलकोटगढी नपा-११ को वडा कार्यालय अमारेमा इन्सेकको आयोजनामा चैत १ गते भएको भूकम्प पछिको पुनर्निर्माणको सवाल विषयक कार्यक्रममा बोल्दै वडा अध्यक्ष रामहरी पाण्डेले निर्माण सामग्रीको महङ्गीको कारण भूकम्प पीडितहरूलाई समस्या परेको बताए ।

Photo20180316Nuwakot

पुनर्निर्माणको अवस्था आफ्नो वडामा राम्रै गतिमा गए पनि लाभग्राहीको सूचीमा नपरेकाहरूले अब चाँडै सूचीमा नाम आउने वडाध्यक्ष पाण्डेले जानकारी दिए । 'लाभग्राही सूचीमा छुट भएकाहरूको पुनः प्राविधिक आएर विवरण सङ्कलन गरेर गएका छन् । हामीले पुनर्निर्माण प्राधिकरणको प्रमुखलाई भेट्दा छुटेकाहरूको यही चैत १५ गतेसम्म सूची आउने जानकारी दिएका छन् ।'-वडा अध्यक्ष पाण्डेले भने ।

कार्यक्रममा लाभग्राहीको सूचीमा नाम आएर पनि अनुदान सम्झौता हुन नसकेको, अनुदान सम्झौता भएर पनि पहिलो किस्ता नपाएकाहरूको समस्या सम्बोधन गर्न वडा कार्यालयले पहल गरिरहेका वडा अध्यक्ष रामहरी पाण्डेले बताए ।

Photo20180316Nuwakot1

कार्यक्रममा भूकम्पपछि तत्काल निर्माण गरिएको कतिपय घरहरू मापदण्ड विपरीत भन्दै प्राविधकहरूले नहेरेको गुनासो समेत गरेका थिए । पञ्चकन्या उच्च माविका प्रधानाध्यापक शम्भु तिवारीले ढुङ्गामाटोको घर पक्कि हुने तर, ९/१२ को पिपर हालेको घर चाँहि पक्की नहुने सरकारी मापदण्ड गलत रहेको बताए ।

उनले यस्ता घरहरूलाई पनि अनुदान दिनु पर्ने बताए । बेलकोटगढी नपा-११ मा पनि केही घरहरू सरकारी मापदण्ड नआउँदै ९/१२ साइजको पिलर हालेर डबल टाइपिङ गरेर निर्माण गरिएकोले त्यस्ता घरहरूलाई पनि मान्यता दिनु पर्ने सहभागीहरूले बताएका थिए ।

वडा कार्यालयका सवइञ्जिनियर राजेश्वर फुँयालले मापदण्ड विपरीतका घरहरू पनि हेरेर फाइल पठाएको र यस्ता घरहरूको माथिल्लो निकायले अध्ययन गरी पुनः नापजाँच गरेपछि मात्र अनुदान दिन हुने नहुने सिफारिस हुने बताए ।

वडा नं. ११ मा ७ सय ५७ जनाको अनुदान सम्झौता भएको र १ सय ६० गुनासोको सम्बोधन भइसकेको वडा कार्यालयले जनाएको छ ।

नवदीप श्रेष्ठ