बाल विवाहविरुद्ध सचेतना अभियान कार्यक्रम सम्पन्न

  ०७८ फागुन २३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजनामा बाल विवाहविरुद्ध सचेतना अभियान अन्तरगत कावासोती नगरपालिका–१२ मा फागुन २० गते कार्यक्रम सञ्चालन गरिएको छ ।

इन्सेकद्वारा कावासोती नगरपालिकामा गठन गरिएको मानव अधिकार समूह र बाल अधिकार चेतना समूह शान्ति निकुञ्ज माध्यमिक विद्यालयसँगको सहकार्यमा विद्यालयमा बाल विवाहविरुद्ध सचेतना अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा बाल विवाह हुनुका कारण, यसले पार्ने नकारात्मक प्रभाव, यसको न्यूनिकरणको लागि चाल्नु पर्ने कदम र कानुनी व्यवस्थाहरुको बारेमा अभिमुखिकरण गरिएको थियो ।

कार्यक्रममा सहभागी बालबालिका स्वयम्ले बाल विवाहको कारण परेको असरहरुको बारेमा उदाहरण प्रस्तुत गर्दै बाल विवाह नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा सहजीकरण गर्दै इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले विद्यालयमा बाल विवाहको अवस्थाको बारेमा समेत छलफल र जानकारी लिनुभएको थियो ।

शान्ति निकुञ्ज माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद न्यौपानेले विद्यालयमा इन्सेकले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरुले बालबालिका ज्ञान र चेतना बृद्धि भएको भन्दै धन्यवाद प्रकट गर्नुभएको थियो ।

आर्थिक, सामाजिक, सांस्कृतिक, कानुनी सचेतनाको कमी, सामाजिक सञ्जालको बढ्दो गलत प्रयोग लगायतको कारण बाल विवाह भइरहेको भन्दै उहाँले बाल विवाह न्यूनिकरणको लागि स्वयम् बालबालिका सचेत हुन सक्दा पनि धेरै परिवर्तन हुन सक्ने बताउनुभयो ।

विद्यालयमा इन्सेकद्वारा गठन गरिएको बाल अधिकार चेतना समूहका सदस्य, विद्यालयको कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थी, शिक्षक, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

मानव अधिकार समूह कावासोती नगरपालिकाले बाल विवाहको कारण शिक्षा, स्वास्थ्य लगायतमा नकारात्मक परेको भन्दै यसकाविरुद्ध सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार इन्सेक नवलपुरले नगरपालिकाको दुई स्थानमा अभियान सञ्चालन गरेको जिल्ला सहजकर्ता गङ्गा विश्वकर्माले बताउनुभयो ।

Photo20220307Nawalpur1

Photo20220307Nawalpur2

Photo20220307Nawalpur3

Photo20220307Nawalpur4

तिर्थराज डुम्रे