बाल अधिकार चेतना समूहका तीन दिवसीय क्षमता अभिवृद्धि तालिम सुरू 

इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँद्वारा बाल अधिकार चेतना समूहका पदाधिकारीहरूका लागि आयोजित क्षमता अभिवृद्धि तालिम माघ १७ गतेबाट सुरू गरिएको छ ।

धनुषा क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्य रामचन्द्र मण्डलले तालिमको उदघाटन गर्दै आजका बालबालिका देशका कर्णधार भएकाले असल आचार व्यवहार सिक्न सिकाउनुपर्ने बताए ।

photo20170131dhanusha

'बालबालिकालाई असल शिक्षा, राम्रो वातावरण दिन सक्नु पर्छ । बालमैत्री शिक्षा र बालमैत्री विद्यालय अहिलेको आवश्यक्ता हो । बालबालिकालाई कुटेर होइन कि माया गरेर शिक्षा दिनु पर्छ ।'-सांसद मण्डलले भने । बाल अधिकारको लागि प्रदेश सभा सदस्यको हैसियतले बालमैत्री कानुनहरू निर्माण गर्न पहल गरिने उनले बताए ।

तालिममा तीन जिल्लाका १२ वटा सामुदायिक विद्यालयका २४ जना बालबालिका र १२ जना संरक्षक शिक्षकहरूको सहभागिता रहेको छ ।

कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँका संयोजक कृष्ण गौतमले बाल अधिकारको विषय वस्तुलाई तीन दिनसम्म बालबालिकाहरूबिच तालिमको माध्यमले जानकारी दिने बताए । बालबालिकाहरूले पाउने सेवा सुविधा, विद्यालयमा गरिने व्यवहारलगायतका विषयमा तालिममा समेटिने संयोजक गौतमले जनाए । क्षेत्रीय कार्यालयका कार्यक्रम संयोजक गणेश भण्डारीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए ।

विनोदकुमार रविदास