बालबालिकामाथि लगानी गर्न सरोकारवालाहरुको जोड

  ०८१ भदौ ३० गते

Child Rights Dhanusha

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित बाल अधिकार चेतना समूह, मिथिला नगरको संयोजन तथा मिथिला नगर महिला तथा बालबालिका शाखाको संयोजनमा ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा श्री महेन्द्र माध्यमिक विद्यालय, ढल्केवरमा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा मिथिला नगरपालिकाकी नगर उपप्रमुख सुनिता सिंह बुढाथोकीले हाजरी जवाफ प्रतियोगिताले सामान्य ज्ञान आर्जन तथा विद्यार्थीको बौद्धिक क्षमता विकासमा मद्दत मिल्ने हुँदा यस्तो कार्यक्रमहरूलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो । यसैगरी उहाँले आगामि समयमा वडागत नीति, योजना तथा कार्यक्रममा बालबालिकामाथि हुने लगानीलाई सुनिश्चितता गरिने र इन्सेक लगायत गैर सरकारी संस्थासँग थप समन्वय गरी बालबालिकाको चौतर्फि विकासका लागि पहल गरिने विषयमा जोड दिनु भयो ।

Hajiri Jawaf 6

इन्सेक केन्द्रीय कार्यालयका मानव अधिकार शिक्षा कार्यक्रम फोकल पर्सन कृष्ण प्रसाद नेपालले ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा सम्पूर्ण सहभागीहरूलाई शुभकामना मन्तव्य दिनुहुँदै बाल अधिकार तथा बाल सहभागिताका लागि नेपाल सरकारले पक्ष राष्ट्र भई गरेका विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरू तथा नेपालको संविधान प्रदत्त मौलिक हकको रुपमा रहेको बाल अधिकारको व्यवस्थाहरू तथा बालबालिका सम्बन्धी ऐन २०७५ को कार्यान्वयनका लागि स्थानीय तह सम्बद्ध सरोकारवाला निकायहरूको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।

उहाँले अझैपनि सामाजिक कुरिती, विभेद तथा गरिवीका कारण बालिकाहरूको शिक्षा तथा स्वास्थ्यको पहुँचको अभावका कारण धेरै जसो हिंसामा परेको र न्याय निरुपणमा सहज पहुँचको अभाव रहेको बताउनु भयो । आगामि समयमा विद्यालय गैर सरकारी संस्था तथा स्थानीय सरकारको पहलमा यस्ता कार्यहरूलाई निरुत्साहन गर्नका लागि बालबालिकामाथि राज्यले थप लगानी बढाउनु पर्ने विषयमा जोड दिनु भयो ।

मिथिला नगरपालिकाका महिला, बालबालिका शाखा प्रमुख मिलन श्रीवास्तवले बालबालिकाको प्रतिभालाई प्रष्ठफुटन गर्न इन्सेकले नियमित रुपमा पालिकामा विद्यार्थीहरुलाई उत्साहित गर्न गरिरहेको कार्य सराहनीय रहेको बताउनु भयो ।

मिथिला नगरपालिका वडा ७ नं. वडाका वडा अध्यक्ष रामबहादुर स्याङ्तानले बालबालिकाको क्षमता अभिवृद्धि तथा सामाजिक सरोकारका विषयहरूमा अर्थपूर्ण सहभागिताका लागि यस पटक बजेट छुट्याइएको बताउनु भयो ।

श्री महेन्द्र माध्यमिक विद्यालय, ढल्केबरका प्रधानाध्यापक रामकुमार महतोले विद्यालयका बालबालिकाहरूको अतिरिक्त क्रियाकलापको सहभागिता र बालबालिकाले समूह गठन पश्चात आफै सक्रिय रुपमा कार्यक्रमहरू तय गरी सञ्चालन गर्ने र यस्ता क्रियाकलापहरूले बालबालिकाको क्षमता अभिवृद्धि र अर्थपूर्ण सहभागितामा मद्दत पुग्ने बताउँदै सहयोग संस्था इन्सेक र मिथिला नगरपालिकालाई धन्यवाद प्रदान गर्नु भयो ।

त्यसैगरी सोही विद्यालयका संरक्षक शिक्षक मिर प्रसाद शर्माले स्थानीय तह लगायत विभिन्न संरचनागत इकाईहरू र सामुदायिक सहभागिता सहितका शैक्षिक मुद्दाका विषयहरूमा प्राथमिकता दिई बालबालिकामाथि लगानी बढाउनु पर्ने बताउनु भयो ।

मिथिला नगर बाल सञ्जालका अध्यक्ष दिपेश महतोले बालबालिकाका क्षेत्रमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि सहयोग गरेकोमा इन्सेकलाई धन्यवाद दिँदै आगामि दिनमा मिथिला नगर र विभिन्न संघ संस्थाहरूलाई थप मद्दत गरिदिनुहुन अनुरोध गर्नु भयो ।

नगरस्तरीय हाजिरी जवाफ प्रतियोगितामा मिथिला नगरपालिकाका वडाहरूमा गठित विसहारा बाल क्लव, एकता बाल क्लव, बाल्य ज्ञान, महेन्द्र बाल क्लव, आदर्श बाल क्लव, जमुनी बाल क्लव,, सार्वजनिक नमुना बाल क्लव गरी सात ओटा बाल क्लवका भाइवहिनीहरूले भाग लिनु भएको थियो ।

हाजिरी जवाफ प्रतियोगितामा एकता बाल क्लव प्रथम, महेन्द्र बाल क्लव द्वितीय, बाल्य ज्ञान क्लव तृतीय, जवीनीवास बाल क्लव शान्त्वना पुरस्कारबाट सम्मानित भएका थिए ।

Hajiri Jawaf 4

Hajiri Jawaf 3

Hajiri Jawaf 2

Hajiri Jawaf 1

Hajiri Jawaf 8

इन्सेक मधेस प्रदेश कार्यालय, जनकपुरधाम