न्यायिक प्रक्रियाका लागि इन्सेकद्वारा आर्थिक सहयोग

  ०८१ असार २२ गते

बहुविवाह तथा घरेलु हिंसा पीडित महिलालाई न्यायिक प्रक्रियामा जानका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ । तानसेन नगरपालिका-४ की ४५ वर्षीया तेजकुमारी मुखियालाई ०८१ असार २१ गते इन्सेक पाल्पा जिल्ला प्रतिनिधिले न्यायिक प्रक्रियाका लागि सहयोग रकम १० हजार रुपियाँ हस्तान्तरण गर्नुभएको हो ।

पीडित मुखियाले ०८१ असार १९ गते न्यायिक प्रक्रियाका लागि परामर्श तथा आर्थिक सहयोग माग गरी इन्सेक समक्ष निवेदन दिनुभएको थियो । उहाँले आफू बहुविवाह तथा घरेलु हिंसा पीडितको रूपमा रहेको, तीन जना छोरीहरू रहेकोमा उनीहरूका बुबाको कुनै पनि सहयोग नहुँदा खुवाउन, पढाउन धेरै समस्या भएको र आर्थिक अभावकै कारण मुद्धामामिलाको प्रक्रियामा जान नसकेको बताउनु भयो । पतिले हिंसा गरी घरायसी वातावरण नदिएकै कारण आफूले धेरै कष्ट सहँदै आएको बताउनु भयो ।

उहाँले आफू १२ वर्षदेखि बहुविवाह तथा घरेलु हिंसा पीडितको रूपमा रहेको बताउनु भयो । उहाँको तानसेनका दिनेश शेखर बज्राचार्जसँग विवाह भएको थियो । उहाँले आफू न्यायिक प्रक्रियाका लागि जाने र यसका लागि इन्सेकसँग आवश्यक परामर्शको अपेक्षा राखेको समेत बताउनु भयो ।

यज्ञमूर्ति तिमिल्सिना